लिफ्टसहितको कुसुन्तीको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा आउने (भिडियोसहित)

डिसी नेपाल
८ कार्तिक २०८३ १६:४०
4
Shares

काठमाडौं । ललितपुर महानगरपालिका-१३ कुसुन्ती हाइटस्थित चक्रपथमा निर्माणाधीन लिफ्टसहितको आकाशे पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण भइरहेको पुलको काम अहिले तीव्र गतिमा अघि बढिरहेको छ।

ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलका अनुसार पुल निर्माण सम्पन्न गरी आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएकी हुन्।

चक्रपथमा सडक वारपार गर्दा पैदलयात्रीले भोग्दै आएको कठिनाइ र दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले महानगरपालिकाले उक्त पुल निर्माण गरेको हो । विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा शारीरिक रूपमा अशक्त व्यक्तिलाई सहज र सुरक्षित रूपमा सडक वारपार गर्न सक्ने व्यवस्था मिलाउन पुलमा लिफ्ट जडान गरिएको छ।

लुईटेलका अनुसार पुलको दुवैतर्फ लिफ्टको सुविधा उपलब्ध हुनेछ । लिफ्टमा जडान गरिएका बटन थिचेर आवश्यक दिशातर्फ जान सकिने व्यवस्था मिलाइएको छ । यसले सिँढी चढ्न कठिनाइ हुने व्यक्तिलाई सडक वारपार गर्न सहज बनाउने अपेक्षा गरिएको छ।

आकाशे पुलमा लिफ्टका अतिरिक्त स्तनपान कक्ष र कफी सपसमेत रहनेछन्। आधुनिक सुविधा र अपाङ्गतामैत्री संरचनासहित निर्माण भइरहेको यो पुल नेपालमा फरक प्रकृतिको हुने महानगरपालिकाको दाबी छ।

पुल निर्माण निर्धारित समयभन्दा केही ढिलो भएको महानगरपालिकाले जनाएको छ । निर्माणका लागि आवश्यक सामग्री समयमा उपलब्ध हुन नसक्दा काम लम्बिएको लुईटेलले बताइन् । दुई वर्षअघि शिलान्यास गरिएको पुल पहिले नै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सामग्री आपूर्तिमा भएको ढिलाइका कारण निर्माण कार्य प्रभावित भएको उनको भनाइ छ ।

पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट तथा आसपासका क्षेत्रका बासिन्दालाई चक्रपथ वारपार गर्न सहज हुने विश्वास गरिएको छ। विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र शारीरिक रूपमा अशक्त व्यक्तिका लागि यो पुल उपयोगी हुने अपेक्षा गरिएको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगे पनि पुल सञ्चालनमा आउने र औपचारिक उद्घाटन हुने निश्चित मिति भने सार्वजनिक गरिएको छैन।

&


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *