संघीय गणतन्त्रपछि कर्णालीमा विकास र अधिकार स्थापित भएका छन् : मुख्यमन्त्री शाही

डिसी नेपाल
८ कार्तिक २०८३ १७:०७
4
Shares

हुम्ला। कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चारको पहुँच विस्तार भएको बताएका छन्।

आइतबार हुम्लाको अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित आफूले २०४१ सालमा अध्ययन गरेको सूर्योदय माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले विगतमा चामल र नुन ल्याउनसमेत निकै दुःख गर्नुपर्ने अवस्था रहेको स्मरण गरे।

‘म २०४१ सालमा यही विद्यालयमा पढ्दा चामल ल्याउन बाजुराको कोल्टी र मार्तडी जानुपथ्र्यो। बाटोमा भारी बोकेर जान्थ्यौँ, उताबाट ल्याउँदा पनि भारी बोकेर आउँथ्यौँ,’ उनले भने।

मुख्यमन्त्री शाहीले आफू विद्यार्थी हुँदा मट्टीतेलको अभावमा झरो बालेर पढ्नुपरेको स्मरण गर्दै अहिले गाउँगाउँमा सडक र विद्युत् पुगेको तथा हातहातमा मोबाइल रहेको बताए। संघीय गणतन्त्रपछि प्राप्त उपलब्धिलाई नयाँ पुस्ताले बुझ्नुपर्ने उनको भनाइ थियो।

उनले विकासका केही योजना अधुरा रहेको स्वीकार गर्दै विगत र वर्तमानको अवस्थालाई तुलना गर्न आग्रह गरे। दलित समुदायमाथि हुने विभेद र महिलाको शिक्षामा पहुँचको अवस्थासमेत विगतको तुलनामा परिवर्तन भएको उनले बताए।

‘आजभन्दा ३० वर्षअघि दलित समुदायका व्यक्तिले छोएको रोटीसमेत धेरैले खाँदैनथे। घरभित्र प्रवेश गर्न अनुमति थिएन। तर आज त्यो अवस्था छैन। हामी सम्मानपूर्वक बाँच्न पाएका छौँ,’ उनले भने।

आफू शिक्षक पेसा छाडेर १२ वर्ष जनयुद्धमा लागेको स्मरण गर्दै शाहीले महिला, दलित र पछाडि परेका क्षेत्रको विकास तथा अधिकार स्थापित गर्न संघर्ष गरेको बताए। उनले संघीय गणतन्त्रबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै कर्णालीको विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *