कात्तिक १७ र १८ गते २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

डिसी नेपाल
९ कार्तिक २०८३ १२:०३
12
Shares

काठमाडौं । सरकारले आगामी कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै सरकारले यस वर्षको पहिलो चरणको कार्यक्रम उक्त मितिमा सञ्चालन गर्न लागेको हो।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई खुवाइनेछ। यस्तै, एक वर्षदेखि पाँच वर्षसम्मका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम पनि सञ्चालन गरिनेछ।

कार्यक्रमका लागि आवश्यक भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको विभागले जनाएको छ।

बालबालिकामा हुन सक्ने स्वास्थ्यसम्बन्धी जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले नियमित रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु गरेको हो।

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन गरिने विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *