साउदी रक्षा मन्त्रीको तेहरानको अचानक भ्रमण: हुथी आक्रमण रोक्न इरानमार्फत १ अर्ब डलरको अफर गरिएको दाबी

डिसी नेपाल
१० कार्तिक २०८३ १५:०१
72
Shares

काठमाडौं । साउदी अरबमा हुथी समूहका आक्रमणहरू विगत केही दिनदेखि निरन्तर जारी छन्। खाडी क्षेत्रका कूटनीतिक स्रोतहरूका अनुसार साउदी अरबका रक्षा मन्त्री प्रिन्स खालिद बिन सलमानले हुथीहरूसँग युद्धविरामबारे वार्ता गर्न अचानक इरानको भ्रमण गरेका छन्। यस वार्ताको मुख्य उद्देश्य नै हुथी समूहका आक्रमणहरू रोक्नु रहेको छ।

स्रोतहरूको दाबीलाई उद्धृथ गर्दै इजरायली मिडिया रिपोर्टमा जनाइएअनुसार, यस सम्झौताअन्तर्गत साउदी अरबले इरानमार्फत हुथीहरूलाई १ अर्ब अमेरिकी डलर दिने अफर गरेको छ। स्रोतका अनुसार साउदी रक्षा मन्त्री उक्त रकम आफूसँगै ‘हर्कुलिस’ सैन्य यातायात विमानमा राखेर तेहरान पुगेका थिए। यद्यपि, साउदी अरबका कुनै पनि अधिकारीले यस्तो किसिमको वित्तीय लेनदेनको पुष्टि गरेका छैनन्।

हुथीहरूले साउदी अरबका तेल पूर्वाधारहरूलाई निरन्तर निसाना बनाइरहेका बेला यो वार्ता भइरहेको छ। साउदी रक्षा मन्त्रीको यो भ्रमण ‘मक्का रक्षा सम्झौता’ मा साउदी अरबका साझेदार देशहरूले आयोजना गरेका थिए। यस वार्तामा टर्कीका गुप्तचर प्रमुख इब्राहिम कालिन र पाकिस्तानी सेना प्रमुख असिम मुनिर पनि सहभागी छन्।

यस सम्झौताका बाबजुद पाकिस्तान र टर्कीले साउदी अरबलाई कुनै ठोस सैन्य सहयोग उपलब्ध गराउन सकेका छैनन्। उनीहरूले केवल आफ्ना सैन्य सल्लाहकारहरू मात्र पठाएका छन् भने कुनै अतिरिक्त सैन्य बल पठाएका छैनन्। जबकि मक्का सम्झौतामा कुनै सदस्य राष्ट्रमाथि आक्रमण भएमा बाँकी सदस्य राष्ट्रहरूले उसलाई सैन्य सहायता दिने प्रावधान रहेको छ।

इरानले साउदी अरब र हुथीहरूबीच मध्यस्थता गर्ने प्रस्ताव राखेको छ। साउदी विदेश मन्त्रालयले यस सम्बन्धमा जारी गरेको आधिकारिक वक्तव्यमा रक्षा मन्त्री प्रिन्स खालिद बिन सलमान र मक्का संयुक्त रक्षा गठबन्धनका सदस्य राष्ट्रका प्रतिनिधिहरूको इरान भ्रमणको मुख्य उद्देश्य यस क्षेत्रमा जारी तनाव कम गर्नु रहेको स्पष्ट पारेको छ। यद्यपि, साउदी अधिकारीहरूले अहिलेसम्म कुनै धनराशि हस्तान्तरण भयो वा भएन भन्नेबारे पुष्टि गरेका छैनन्।

अर्कातर्फ, अधिकारीहरूका अनुसार हुथीहरूसँगको विवादको एउटा कारण तीन वर्षअघिका सम्झौताहरू कार्यान्वयन नहुनुसँग पनि जोडिएको छ। ती सम्झौताअन्तर्गत साउदी अरबले हुथीहरूलाई सिधै आर्थिक सहायता उपलब्ध गराउनुपर्ने थियो। उक्त रकमको प्रयोग हुथीको नियन्त्रणमा रहेका क्षेत्रहरूका सरकारी कर्मचारीहरूलाई तलब दिन तथा नागरिक सुविधाहरू र पूर्वाधारको पुनः निर्माणका लागि गरिनुपर्ने थियो। यसको बदलामा हुथीहरूले युद्धविरामको पालना गर्ने र साउदी अरबमाथि आक्रमण बन्द गर्ने अपेक्षा गरिएको थियो।

पछिल्ला महिनाहरूमा हुथीहरूले साउदी अरब पूर्वसहमतिबाट पछि हटेको दाबी गर्दै आफ्ना आक्रमणहरूलाई जायज ठहराउँदै आएका छन्। तैपनि, अमेरिकासँग चलिरहेको आफ्नो द्वन्द्वका बीच इरान स्पष्ट रूपमा हालको तनाव बढाउनुका पछाडि रहेको देखिन्छ। उसले हुथीहरूलाई हतियार उपलब्ध गराउनुका साथै अन्य माध्यमहरूबाट सहयोग गरिरहेको छ।

त्यसैले, तेहरानमा भएको यो बैठक साउदी अरबका लागि एक ‘जनसम्पर्क’ सम्बन्धी धक्का पनि हो। यसले उनीहरू तेल निर्यातलाई पूर्ण रूपमा पुनः सुचारु गर्नका लागि, कमभन्दा कम समयमा, केही छुट वा सम्झौता गर्न तयार रहेको सङ्केत गर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *