युएइको तट नजिक भारी मात्रामा तेल चुहावट, धेरै समुद्र तटहरू बन्द
काठमाडौं । संयुक्त अरब इमिरेट्सको तट नजिक तेलको चुहावट लगातार फैलिरहेको छ। युरोपेली संघको ‘कोपरनिकस’ उपग्रह नेटवर्कद्वारा अक्टोबर २४ मा लिइएका तस्बिरहरूमा समुद्रमा तेलको पत्रको दायरा बढ्दै गएको देखिएको छ।
तेल उत्तरी इमिरेट्सको ‘उम्म अल क्वैन’ को तट नजिक पुगेको छ, जसले गर्दा पर्यावरणमाथि गम्भीर क्षति पुग्ने आशङ्का बढेको छ र अधिकारीहरूले धेरै समुद्र तटहरूमा सर्वसाधारणको आवतजावतमा रोक लगाएका छन्।
युएइको जलवायु परिवर्तन तथा पर्यावरण मन्त्रालयले गत अक्टोबर २३ मा तटभन्दा टाढा रहेको एक ट्याङ्करबाट बगिरहेको तेललाई रोक्ने प्रयास भइरहेको जनाएको थियो। मन्त्रालयले पर्यावरणमा यसको पर्ने प्रभावको मूल्याङ्कन पनि गरिरहेको छ।
उम्म अल क्वैन सहर वरपरका सबै समुद्र तट तथा तटीय क्षेत्रहरूलाई अस्थायी रूपमा बन्द गरिएको छ। छिमेकी इमिरेट्स शारजाहको ‘अल हमरिया बीच’ मा पनि सावधानीका रूपमा मानिसहरूको प्रवेश रोकिएको छ।
यसैगरी, रास अल खैमाहमा पनि अक्टोबर २४ का दिन अधिकारीहरूले अर्को सूचना जारी नभएसम्मका लागि सबै समुद्र तटहरू बन्द गर्ने घोषणा गरेका छन्। यो क्षेत्र आफ्ना रमणीय समुद्र तटहरू र लक्जरी रिसोर्टहरूका लागि प्रसिद्ध छ।
न्युयोर्क युनिभर्सिटी आबुधाबीको वाटर रिसर्च सेन्टरका निर्देशक तथा इन्जिनियरिङका प्रोफेसर निदाल हिलालले रोयटर्ससँग कुरा गर्दै उम्म अल क्वैन नजिकैको तेल रिसाव गम्भीर पर्यावरणीय चिन्ताको विषय भएको बताएका छन्। उनका अनुसार तेल कति क्षेत्रमा फैलिसकेको छ र यो कुन दिशातर्फ अगाडि बढिरहेको छ भन्ने स्पष्ट मूल्याङ्कन नभएसम्म समुद्र तटहरू बन्द राख्नु सावधानीको हिसाबले उचित कदम हो।
युएइका अधिकारीहरूले हालसम्म न तो ट्याङ्करको नाम खुलाएका छन्, न त रिसावको वास्तविक कारण नै स्पष्ट पारेका छन्। यद्यपि, विज्ञहरूले रोयटर्सलाई दिएको जानकारी अनुसार तेलको यो रिसाव ‘जेम नम्बर २’ नामक ट्याङ्करबाट भइरहेको छ। नौवहन (शिपिंग) सँग आबद्ध स्रोतहरूका अनुसार गत महिना यस जहाजमा कुनै अज्ञात क्षेप्यास्त्र (प्रोजेक्टाइल) बाट आक्रमण भएको थियो, जसका कारण त्यसमा आगलागी भएको थियो। पछि उक्त आगो नियन्त्रणमा लिइएको थियो।
कोपरनिकस सेन्टिनेल-२ स्याटेलाइटका तस्बिरहरूमा ट्याङ्करबाट फैलिँदै गरेको तेल प्रस्ट रूपमा देखिएको छ। जहाजको आकार र डेकको बनावट पुराना तस्बिरहरूसँग ठ्याक्कै मेल खान्छन्। जहाजको दाँयातिरको उपरी भागनजिकै जलेका डोबहरू पनि देखिएका छन्, जुन इरानको रिभोलुसनरी गार्ड्सद्वारा जारी गरिएका भिडियो फुटेजमा देखिएका जलेका भागहरूसँग मिल्दोजुल्दो छन्।
अमेरिका र इजरायलको इरानसँग द्वन्द्व सुरु भएपछि खाडी क्षेत्रका सामुद्रिक मार्गहरूमा व्यापारिक जहाजहरूमाथि हुने आक्रमणका कारण सुरक्षा जोखिम बढेको छ। होर्मुज स्ट्रेट र आसपासका जलक्षेत्रमा जहाजहरूमाथि भइरहेका आक्रमणहरूले गर्दा पर्यावरणीय क्षतिको चिन्ता पनि उत्तिकै बढेको छ। ‘वासिङ्टन इन्स्टिच्युट फर नियर ईस्ट पोलिसी’ को तथ्याङ्कअनुसार अक्टोबर महिनामा होर्मुज स्ट्रेट र त्यस आसपासका जलक्षेत्रमा व्यापारिक जहाजहरूमाथि सबैभन्दा बढी आक्रमणहरू दर्ता भएका छन्।
इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार युएइको समुद्री क्षेत्रमा माछा, वनस्पति तथा मुङ्गा (कोरल) को समृद्ध विविधता रहेको छ। खाडीको पानीमा माछाका ५०० भन्दा बढी प्रजातिहरू पाइन्छन् भने यहाँ डल्फिन र समुद्री कछुवाहरू पनि बसोबास गर्छन्। यस्तो अवस्थामा तेलको यो फैलावटले समुद्री पर्यावरण र जलचर जीवहरूका लागि ठूलो सङ्कट उत्पन्न गरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment