धान सिजनमा मुलुकका प्रमुख नहर प्रणाली पूर्ण रूपमा सञ्चालनमा

डिसी नेपाल
१६ कार्तिक २०८३ १३:३८
4
Shares

काठमाडौं । चालु मनसुनको धान बालीको सिजनमा मुलुकका प्रमुख नहर प्रणालीहरू किसानका खेतसम्म पानी पुऱ्याउन पूर्ण रूपमा सञ्चालनमा रहेका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागका अनुसार सुनसरी मोरङ सिँचाइ आयोजनाले ६८ हजार हेक्टर (जसमध्ये ५५ हजार हेक्टर सतह सिँचाइ) र राजापुर सिँचाइ व्यवस्थापन कार्यालयले १४ हजार १३८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुऱ्याइरहेका छन्।

कमला सिँचाइ प्रणाली, भेरी करिडोर र बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाहरूमा धान बालीका लागि नहर निरन्तर सञ्चालन भइरहेको छ।

बाली सिजनमा पानी आपूर्तिलाई पहिलो प्राथमिकतामा राखिएकाले भौतिक निर्माणका कामहरू धान बाली भित्र्याइसकेपछि मात्र गर्ने गरी कार्यतालिका मिलाइएको विभागका महानिर्देशक दिनेश रजौरियाले जानकारी दिए।

यसैगरी, पछिल्लो समय सिँचाइ पहुँच विस्तार गर्ने क्रममा पोखरा (कास्की) मा ३५ हेक्टर, भेरी करिडोरमा १० हेक्टर र विराटनगर क्षेत्रमा ३ हेक्टर नयाँ जमिनमा सिँचाइ सुविधा थपिएको छ।

सिक्टा र बबई आयोजनासहित गत भदौ मसान्तसम्ममा मुलुकभर करिब २०० हेक्टर नयाँ कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार भइसकेको विभागले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *