सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

डिसी नेपाल
१७ कार्तिक २०८३ २२:३५

सङ्खुवासभा। सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन्।

आज सम्पन्न खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई ‘सडन डेथ’ मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो भने सेकाहाले झापा–११ लाई २–० गोलले हराएको छ।

खाँदबारी नगरपालिका–३ मानेभञ्याङस्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा लोहरुङ र सलहेशबीचको निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि भएको टाइब्रेकरमा दुवै टोलीले चार–चार गोल गरेपछि खेलको निर्णय सडन डेथबाट लिइएको थियो। सडन डेथमा लोहरुङले ६–५ गोलले जित निकालेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा सलहेशले सुरुआती अग्रता बनाएको थियो। निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडन डेथमा बाजी मार्दै लोहरुङले सेमिफाइनलको यात्रा तय गरेको हो।

आजै भएको अर्को खेलमा सङ्खुवासभाकै सेकाहा सामुदायिक क्लबले झापा–११ लाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। सेकाहाका लागि मिलन लिम्बूले खेलको ५५औँ र ६३औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीको जित सुनिश्चित गर्नुभयो। दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको सेकाहाले झापा–११ लाई गोल गर्ने अवसर नदिई महत्त्वपूर्ण जित निकालेको हो।

यही कात्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक जिल्लामान राईले बताए।प्रतियोगिताको विजेता टोलीले नगद रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही रु सात हजार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘प्लेयर अफ द म्याच’ घोषित गरी रु पाँच हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले रु १० हजार प्राप्त गर्नेछन्।एडभान्स क्लब मानेभञ्याङको आयोजनामा सोमबारदेखि महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङको खेल मैदानमा प्रतियोगिता सुरु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *