यौन मन्त्रालय बनाउने प्रस्तावपछि संसद बैठकमा सांसदहरूको कुटाकुट
काठमाडौं । प्रस्तावित ‘यौन मन्त्रालय’ को विषयलाई लिएर भएको विवादका क्रममा आर्मेनियाको संसद्मा सांसदहरूबीच कुटाकुट हुनुका साथै कुर्सी र मुक्का हानाहान भएको छ।
विपक्षी ‘स्ट्रङ आर्मेनिया पार्टी’ले देशमा ‘कोही पनि महिला असन्तुष्ट नरहून्’ भन्दै नयाँ सरकारी मन्त्रालय स्थापना गर्ने प्रतिबद्धता यसै वर्षको सुरुमा जनाएको थियो। यौन असन्तुष्टिका कारण मध्यम उमेरका श्वेत महिलाहरूमा राजनीतिक सक्रियता बढेकाले यो नीति आवश्यक रहेको दाबी उसले गरेको थियो।
तर बिहीबार संसद्मा सत्तासीन ‘सिभिल कन्ट्र्याक्ट पार्टी’का सांसद तारोन चाखोयानले विपक्षीमाथि ‘भष्टाचारमा लिप्त भएको’ आरोप लगाउँदै यस प्रस्तावित मन्त्रालयका लागि विपक्षी नेताले महिलाहरूसँग माफी माग्नुपर्ने माग गरेपछि हिंसा भड्किएको थियो।
चाखोयानले स्ट्रङ आर्मेनियाका नेता नारेक कारापेट्यानलाई ‘टाउकोदेखि गोडासम्म भद्रगोल’ भनेर टिप्पणी गरेपछि भनाभन सुरु भएको थियो।
त्यसपछि सांसदहरू उठे र चाखोयानले भाषण दिइरहेको मञ्चतर्फ दौडिए, जहाँ सांसदहरूले एकअर्कालाई मुक्का र लात हानेपछि हातहालाहाल सुरु भयो।
संसद्का उपसभामुख तथा सिभिल कन्ट्र्याक्टका सदस्य वाहाग्न अलेक्सान्यानले विपक्षी सांसदहरूतर्फ कुर्सी प्रहार गरेका थिए भने चाखोयानले विपक्षी सांसद गार्निक दाभत्यानमाथि पानी छ्यापेका थिए।
अन्य सांसदहरूले बोतल प्रहार गर्नुका साथै टेबलहरू भाँचेका थिए।
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले पछि एक पत्रकार सम्मेलनमा भने: ‘म हिंसाको भर्त्सना गर्छु, तर आज सिभिल कन्ट्र्याक्ट संसदीय दलले चालेको कदमको समर्थन गर्छु, किनभने [स्ट्रङ आर्मेनिया] प्रतिपक्षमा हुनुको अर्थ उनीहरू उद्दण्ड बन्न पाउँछन् भन्ने होइन।’
‘कुर्सीले होस् या अन्य कुनै कुराले, यो समानुपातिक र सही छ।’
प्रधानमन्त्रीले फेसबुकमा जिस्कँदै विपक्षी दलको नाम ‘स्ट्रङ आर्मेनिया’ राखिए तापनि सांसदहरू ‘शारीरिक रूपमा बलिया’ नरहेको टिप्पणी गरे।
कमेन्ट सेक्सनमा चाखोयानले आफू “अलि दुःखी भएको” प्रतिक्रिया दिँदै लेखे, “उनीहरू [स्ट्रङ आर्मेनिया] झगडा सुरु गर्छन् अनि भाग्छन्।”
चाखोयानले आफ्ना विरोधीहरूको व्यवहारलाई “गुण्डागर्दी” को संज्ञा दिँदै सर्वसाधारणसँग माफी मागे र भने: “झगडा उचालेर कुटाइ नखाई राष्ट्रिय सभाको हलबाट भाग्न पाइने छैन।”
कारापेट्यानले पनि संसद्को कुटाकुटको बचाउ गर्दै यसलाई “सामान्य आर्मेनियाली शैलीको पुरुष-पुरुषबीचको झगडा” भनेका छन्।
“महिनाौंदेखि हाम्रो दिमाग खराब गरिरहेका मानिसहरूले ठ्याक्कै मुखैमा पाए – र राम्रै पाए,” विपक्षी नेताले थपे।
कुटाकुटका क्रममा सुरुमा सभामुखले “यो सब सबैले देख्न सकून्” भन्दै बैठक स्थगित नगर्ने बताएका थिए, तर हिंसा उग्र बनेपछि उनले बैठक स्थागन गर्ने निर्णय गरे।
सांसदहरू चोटपटक र च्यातिएका कपडासहित संसद् भवनबाट बाहिरिँदै गरेको देखिएका थिए।
महान्यायाधिवक्ताको कार्यालयले स्थानीय सञ्चारमाध्यमलाई यस घटनापछि कुनै पनि आपराधिक कारबाहीसम्बन्धी “जानकारी उपलब्ध नरहेको” बताएको छ।
बिहीबार नै संसद् अवरुद्ध भएको अर्को एक घटनामा अल्बानियाका विपक्षी सांसदहरूले धुवाँ फाल्ने बम पड्काएर मञ्च घेराउ गरेका छन्।
अल्बानियाभरका मानिसहरू विगत केही महिनादेखि ‘फ्ल्यामिङ्गो आन्दोलन’का रूपमा परिचित विरोध प्रदर्शन गरिरहेका छन्। सुरुमा शान्तिपूर्ण रहेको यो प्रदर्शन हालका हप्ताहरूमा थप भद्रगोल र हिंसात्मक बनेको छ।
एउटा विवादित रिसोर्ट परियोजनाको विरोधबाट सुरु भएको यो आन्दोलन अहिले व्यापक भ्रष्टाचार र अल्बानियाको राजनीतिक संरचनाविरुद्धको अभियानमा परिणत भएको छ।
विपक्षीको विरोधका बाबजुद सत्तासीन सोसलिस्ट पार्टीले जबरजस्ती पास गराएको ‘बैंक अफ अल्बानिया’ सम्बन्धी कानुन संशोधनको मतदानका क्रममा यो झडप भड्किएको थियो।
विपक्षी सांसदहरूले प्रधानमन्त्री एडी रामाको राजीनामा मागेका छन् र प्रदर्शनकारीहरूमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै प्रहरीको आलोचना गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment