युवा असन्तुष्टि नसम्बोधिए लोकतन्त्र नै संकटमा पर्ने उपेन्द्र यादवको चेतावनी

डिसी नेपाल
२० कार्तिक २०८३ १२:२२

साेल।  युवापुस्ताको बढ्दो राजनीतिक असन्तुष्टि र परम्परागत नेतृत्वप्रतिको अविश्वासलाई समयमै सम्बोधन गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने चेतावनी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले दिएका छन्।

दक्षिण कोरियाको सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनको १३औँ महासभालाई सम्बोधन गर्दै उनले श्रीलङ्का, बङ्गलादेश, केन्या र नेपालका हालैका युवा आन्दोलनहरू रोजगारीको अभाव, कमजोर जवाफदेहिता र राजनीतिक संस्थाप्रतिको घट्दो विश्वासको परिणाम भएको बताएका हुन्।

अध्यक्ष यादवले युवा असन्तुष्टिलाई केवल चुनौतीका रूपमा मात्र नहेरी लोकतान्त्रिक प्रणालीभित्र व्यापक सुधारको सन्देशका रूपमा लिनुपर्नेमा जोड दिए। उनले युवाहरूलाई नीति निर्माण, दलको नेतृत्व र राज्यका निर्णय प्रक्रियामा सार्थक सहभागिता गराउन आवश्यक रहेको औँल्याए।

लोकतन्त्रको सार चुनावमा मात्र सीमित नरही समान अधिकार, सार्थक प्रतिनिधित्व, समावेशिता, सामाजिक न्याय र उत्तरदायी संस्थामा आधारित हुनुपर्ने उनको भनाइ थियो।

सम्बोधनका क्रममा यादवले वर्तमान विश्वव्यवस्था भूराजनीतिक प्रतिस्पर्धा, आर्थिक अनिश्चितता, जलवायु परिवर्तन र बढ्दो असमानताजस्ता बहुआयामिक चुनौतीबाट गुज्रिरहेको बताए।

कुनै पनि राष्ट्र शक्ति र आकारका आधारमा अन्तर्राष्ट्रिय कानुन र सार्वभौमिक समानताभन्दा माथि हुन नसक्ने उल्लेख गर्दै उनले सामूहिक नेतृत्व र समान साझेदारीका आधारमा सहकार्य हुनुपर्ने धारणा राखे।

नेपालको परराष्ट्र नीतिको प्रसङ्गमा बोल्दै उनले नेपाल असंलग्नता, अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तमा दृढ रहेको दोहोर्‍याए। कुनै पनि मुलुकलाई शक्तिराष्ट्रहरूको प्रतिस्पर्धामा कुनै एक पक्ष लिन बाध्य पार्न नहुने उनको भनाइ थियो।

साथै, जलवायु परिवर्तनको असरबारे बोल्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि नेपालजस्ता संवेदनशील मुलुकले यसको प्रत्यक्ष मार खेप्नुपरेको बताए।

हिमनदी पग्लिने, बाढी र पहिरोजस्ता विपद्‌ले जनजीवन र अर्थतन्त्रमा असर पारेकाले प्रमुख उत्सर्जनकर्ता राष्ट्रहरूले जलवायु न्यायका लागि बढी दायित्व वहन गर्दै पर्याप्त वित्त र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *