टर्कीको आक्रमणपछि सिरिया संकट चरमोत्कर्षमा, अमेरिकी उपराष्ट्रपति टर्कीमा

डिसी नेपाल
३० असोज २०७६ १८:२९

न्यूयोर्क (रासस/सिन्ह्वा) । सिरियाली कुर्द लडाकू विरुद्ध टर्कीले केही दिनयता घातक आक्रमणलाई निरन्तरता दिएसँगै त्यसबाट उत्पन्न परिस्थितिप्रति संयुक्त राष्ट्रसङ्घले चासो व्यक्त गरेको छ ।

यद्यपि यी घातक हमलाको अन्त्य गर्न मागगर्दै संयुक्त राज्य अमेरिकाले गत मङ्गलबार टर्कीमाथि आर्थिक प्रतिवन्ध लगाएको छ तर पनि टर्कीले आक्रमण भने रोकेको छैन । त्यस आक्रमणप्रति संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले चासो व्यक्त गरेको हो ।

बुधबार बसेको यस परिषद्को बैठकमा सिरियाको उत्तरी क्षेत्रमा जारी आक्रमणबाट भएको पछिल्लो अवस्थाको बारेमा आवश्यक छलफल भएको बताइएको छ । बुधबारको सो बैठकमा सुरक्षा परिषद्का सदस्य राष्ट्रबीच आक्रमण रोक्नुपर्ने विषयमा आवश्यक परामर्श र छलफल भएको र त्यस विषयमा सहमति पनि भएको बताइएको छ ।

उक्त बैठकमा भएको छलफलको बारेमा जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका लागि दक्षिण अफ्रिकाका स्थायी प्रतिनिधि जेरी मतजिलाले उक्त आक्रमणबाट मानवीय संकट पैदा भएको भन्दै यसबाट उत्पन्न हुनसक्ने परिस्थितिप्रति गहिरो चासो राखेको बताइन् ।

संयुक्त राज्य अमेरिकी सेना रहेको उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फर्काउने निर्णयपछि टर्कीले त्यस क्षेत्रमा हवाई र स्थलगत आक्रमण शुरु गरेको थियो । त्यस आक्रमण अहिले पनि जारी नै रहेको बताइएको छ ।

उत्तरपूर्वी सिरियाको यस इलाका खासगरी कुर्दिश लडाकूको नियन्त्रणमा रहेको बताइएको थियो । त्यस क्षेत्रमा घोषितरुपमा नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सहयोग रोकेको बताएका थिए । उनको यस कार्यको अन्तरराष्ट्रिय समुदायले व्यापक मात्रामा विरोध गरेको अर्काे एक समाचारमा जनाइएको छ । यसलाई विश्व समूदायले असाधारण कदम भएको भन्दै आलोचना गरिरहेको छ ।

त्यहाँबाट आइएसलगायतका आतङ्ककारी समूहका व्यक्ति तितरबितर हुने, सिरियाकै अरु भागतिर जानसक्ने खतराप्रति पनि सुरक्षा परिषद्को उक्त बैठकमा चासो व्यक्त भएको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका लागि चिनियाँ स्थायी प्रतिनिधि चाङ जुनले यसै पनि द्वन्द्वको चपेटामा परिरहेको सिरियामा टर्कीले आक्रमण गरेर परिस्थितिलाई झनै जटिल बनाइदिएको जानकारी दिए । सो बैठकपछि समाचारदातालाई जानकारी दिँदै उनले सुरक्षा परिषद्को सो बैठकमा सिरियाको अवस्थाको बारेमा कुराकानी भएको र युद्ध थप नचर्काउने उपायको बारेमा सुझाव दिने काम भएको बताए ।

टर्कीको आक्रमणपछि पूर्वी सिरियामा कुर्दिस विद्रोहीसँगको सम्झौतापछि सिरियाली सेना सीमाक्षेत्रमा पुगेको छ । सेनाको प्रवेशपछि टर्की र सिरियाली सेनाबीच सङ्घर्ष हुन सक्ने आशङ्का गरिएको छ । अमेरिकाले उत्तरी सिरियामा रहेका करिब एक हजार अमेरिकी सैनिक फिर्ता गर्ने निर्णय केही दिनअघि गरेको थियो । अमेरिकाको यही निर्णयको केही दिनपछि नै टर्कीले आक्रमण थालेको समाचारमा जनाइएको छ ।

उता टर्कीले भने सिरियाली भूमिमा आक्रमण गरेर त्यहाँ सुरक्षित इलाका निर्माण गर्न खोजेको प्रतिक्रिया अन्तरराष्ट्रिय समुदायलाई दिँदै आएको छ । टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सो जानकारी दिएका छन् ।

अमेरिक सेना फिर्ता नगर्न आग्रह

समाचार एजेन्सी एएनआईका अनुसार अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ । संसद्मा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४–६० ले पारित भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केहीदिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए । संसद्ले पारित गरेको प्रस्तावमा अमेरिकी सरकारका विरोधी पक्षलाई लाभ पुग्ने गरी उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता हुनु ठीक होइन भन्दै राष्ट्रपतिको यस निर्णयबाट सिरिया, इरान र रुसलाई समेत असर पार्ने जनाइएको छ ।

साथै उत्तरपूर्वी सिरियामा रहेका सिरियाली कुर्दिस सैन्यबललाई अलपत्र छाड्नु सही नभएको भन्दै संसद्ले टर्कीले सिरियाभित्र जारी राखेको सैन्य कारबाही रोक्न पहल गर्नुपर्ने बताएको छ ।

संसद्को प्रस्तावमा संसद्मा डेमोक्र्याटिक र रिपब्लिकन दुवै पार्टीका ठूलो सङख्याका सांसदको समर्थन रहेको छ । संसद्ले पारित गरेको प्रस्तावमा कुर्दलाई दिइरहेको सहयोग अमेरिकाले बन्द गर्न नहुनेमा जोड दिइएको छ । अमेरिकी संसद्ले उत्तरपूर्वी सिरियामा जारी सैन्य कारबाही तत्काल रोक्न टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई आग्रह गरिएको छ ।

तीन लाख विस्थापित

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीले उत्तरपूर्वी सिरियाको कुर्द नियणन्त्रित क्षेत्रमा गरेको आक्रमणको कारण तीन लाखभन्दा बढी मानिसलाई विस्थापित भएका मानवअधिकारवादी संस्थाले बिहीबार जानकारी दिएको छ ।

मानवअधिकारवादी संस्था ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले यो आक्रमण शुरु भएदेखि हालसम्म तीन लाखभन्दा बढी सर्वसाधारण विस्थापित भइसकेका बताएका छन् । बाध्य भएर विस्थापित हुने व्यक्तिको संख्या अझै बढ्न सक्ने पनि उनले जानकारी दिएका छन् ।

विस्थापितले आफन्तसँग सुरक्षित क्षेत्रमा सर्न खोजेको भए तापनि, कोही बगँैचामा सुतिरहेका थिए, भने कोही ४० वटा विद्यालयमा आपतकालीन शरणस्थलमा पुगेका अब्देल रहमानले बताएका छन् । उत्तरपूर्वी सिरियाको कुर्दिश समर्थकले नियन्त्रण गरिरहेको क्षेत्रमा गत अक्टोबर ९ बाट हमला शुरु भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *