अबु धाबीमा फेला पर्यो आठ हजार वर्ष पुरानो मोती
बीबीसी । विश्वको सबैभन्दा पुरानो प्राकृतिक मोती यूनाइटेड अरब इमिरेट्स (यूएई)को राजधानी अबु धाबीनजिकै एउटा टापुमा फेला परेको छ।
मरवाह द्वीपमा उत्खनन गर्ने क्रममा आठ हजार वर्ष पुरानो उक्त मोती फेला परेको थियो। उत्खननका क्रममा यूएईको प्राचीन वास्तुकलाबारे पनि थाहा भएको छ।
त्यस क्षेत्रमा नवपाषाणयुगदेखि नै मोतीको व्यापार हुने गरेको उत्खननले देखाएको अधिकारीहरू बताउँछन्। यसै महिनाको अन्त्यतिर अबु धाबीस्थित सङ्ग्रहालयमा उक्त मोती प्रदर्शनीका लागि राखिनेछ।
आबु धाबीको संस्कृति तथा पर्यटन विभागका अध्यक्ष मोहम्मद खालिफा अल मुबारक भन्छन्, ‘अबु धाबीमा फेला पारिएको विश्वकै सबैभन्दा पुरानो मोतीले हाम्रो आधुनिक आर्थिक र सांस्कृतिक इतिहासको गहिरो जरा प्रागैतिहासिक बिहानीमै पुग्ने स्पष्ट पारेको छ।’

पुरातत्वविद्हरूले जैविक पदार्थ भएको वस्तुको आयु पत्ता लगाउने रेडियोकार्बन डेटिङ विधि प्रयोग गरेर उक्त मोती इसापूर्व ५८०० देखि ५६०० बीचको हुन सक्ने बताएका छन्।
त्यो समयमा मोती गहना बनाउन प्रयोग भएको हुन सक्ने र प्राचीन इराक रहेको मेसोपोटामिआसँग माटोका वस्तु र अन्य सामग्री किन्न प्रयोग हुने यूएईका विज्ञहरू बताउँछन्।
मरहवा द्वीपमा गरिएको उत्खनन ध्वस्त भएका ढुङ्गे संरचनाहरूमा केन्द्रित थियो। त्यस क्रममा माटोबाट बनेका वस्तु, सिपी र पत्थरबाट बनेका माला र विशेष खालको पत्थरबाट बनेको तीरको टुप्पो भेटिएको थियो।
अबु धाबी पर्ल नाम दिइएको उक्त मोती अक्टोबर ३० देखि सुरु हुने लूभ्र अबु धाबी प्रदर्शनीमा राखिनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment