सिरियामा फेरि सैन्य कारबाही थाल्ने टर्कीको चेतावनी
बीबीसी । टर्कीका राष्ट्रपतिले युद्धविराम अन्त्य हुनुअघि कुर्दिश लडाकुहरू सीमाक्षेत्रबाट नहटेमा उत्तर–पूर्वी सिरियामा पुनः सैन्य कारबाही थाल्ने चेतावनी दिएका छन्।
राष्ट्रपति रेजेप तय्यीप एर्दोआनका अनुसार मङ्गलवार राति १० बजेसम्म १३ सय वाइपीजी लडाकुहरूअझै फर्किनुपर्नेछ।
टर्कीको फौज र उसका साझेदार सिरियाली विद्रोही लडाकुहरूले सिरियामा ३२ किलोमिटरसम्मको सुरक्षित क्षेत्र बनाउन भन्दै अक्टोबर नौ तारिखमा आक्रमण सुरु गरेका थिए।
तर अमेरिकाको आग्रहमा गत हप्ता एर्दोआनले सैन्य कारबाही रोक्न लगाए। विगत चार वर्षयता सिरियामा इस्लामिक स्टेट समूहविरुद्ध लड्न अमेरिकी नेतृत्वको गठबन्धन फौजले वाइपीजीसँग साझेदारी गरेको थियो।
तर टर्कीमा स्वायत्तताका लागि सङ्घर्षरत एउटा कुर्दिश लडाकुसँग जोडिएको भन्दै टर्की सरकारले वाइपीजीलाई आतङ्कवादी सङ्गठनको रूपमा लिँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सीमाक्षेत्रबाट अमेरिकी फौजलाई फर्कन आदेश दिएपछि टर्कीले सैन्य कारबाही थालेको थियो।
ट्रम्पको आदेशको अमेरिकी सांसदहरूले चर्को आलोचना गर्ने गरेका छन्। संयुक्त राष्ट्रसङ्घका अनुसार विगत दुई हप्ताभित्र उत्तर(पूर्वी सिरियामा ८० हजार बालबालिकासहित एक लाख ७६ हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
उत्तर–पूर्वी सिरियामा तीस लाख मानिसको बसोबास छ। ब्रिटेनस्थित पर्यवेक्षक समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार पछिल्ला कारबाहीमा करिब १२० जना सर्वसाधारण, २५९ जना कुर्दिश लडाकु, टर्की समर्थित १९६ जना लडाकु र सातजना टर्किश लडाकु मारिएका छन्।
टर्किश अधिकारीहरूका अनुसार टर्कीको भूमिमा वाइपीजीको हमलाबाट २० जना सर्वसाधारण मारिएका छन्। टर्कीको नियन्त्रणमा रहेको सुरक्षित क्षेत्रबाट वाइपीजी लडाकुहरूलाई निस्किन दिन १२० घण्टाका लागि सैन्य कारबाही रोक्न अमेरिकी उपराष्ट्रपति माइक पेन्सले एर्दोआनलाई सहमत गराएका थिए।
वाइपीजी लडाकुहरूलाई निस्किन दिनका लागि युद्धविराम गर्न पनि उनी सहमत भए। छिटपुट लडाइँका घटनाबाहेक ठूलो स्तरमा युद्धविराम पालना भएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment