सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

डिसी नेपाल
११ कार्तिक २०७६ १६:०३

काठमाडौं, नवलपरासी (पूर्व), सुर्खेत, चितवन, सप्तरी, धनुषा र सिन्धुलीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा बा. ५ च ५०३५ नम्बरको आईचर गाडी अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक मकवानपुर २३ वर्षीय विनोद लामाको केएमसी अस्पताल सिनामंगलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ३ जनाको ओम समाज अस्पताल सतुङगलमा उपचार भइरहेको छ ।

नवलपरासी (पूर्व)मा ना. १८ प २९ नम्बरको मोटरसाइकल आइतबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक २२ वर्षीय कृष्ण कुमालको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै सुर्खेतमा लु १ ख ४८२३ नम्बरको बस उकालोमा लोड धान्न नसकी ब्याक हुँदा दैलेख डुङ्गेश्वर गाउँपालिका बस्ने १४ वर्र्षीया कमला बुढाले बसको ढोकाबाट हाम फाल्दा सोही बसको अगाडीको टायरले किच्दा उनको घटनास्थलमै मृत्यु भएको छ । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

चितवन ना ६ ख १७४१ नम्बरको बसले ना ५५ प २१३१ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ९१ बस्ने ३० वर्षीय अनिल अधिकारीको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।

सप्तरीमा को ३३ प ५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।

धनुषामा प्रदेश २–००१ प ३४७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय करण मुखियाको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै सोमबार बिहान सिन्धुली साँधिखोलास्थित सडकमा बा ८९ प ८७४० नम्बरको मोटरसाइकल र ना १ ज ५६६१ नम्बरको टाटा सुमो एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय सुभराज खत्रीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार फिक्कल गाउँपालिका ६ बस्ने १९ वर्षीय विजय दाहालको सोही अस्पतालमा उपचार भइरहेको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *