चुरेको दोहनले पर्यावरणीय सङ्कट : पूर्वराष्ट्रपति यादव

डिसी नेपाल
२३ कार्तिक २०७६ १९:५७

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादवले चुरेमा लोकराजमार्ग बनाउने योजनाबारे पुनः चिन्तन गर्नुपर्ने खाँचौँ औँल्याएका छन् ।

नेपाल साहित्य महोत्सवअन्तर्गत आज जनकपुरधाममा आयोजित ‘चुरेको चिन्ता’ विषयक संवाद कार्यक्रममा उनले चुरेको दोहनले भइरहेको पर्यावरणीय सङ्कटतर्फ सबैको ध्यानु जरुरी भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले चुरे भएर राजमार्ग बनाउने र स्काभेटर लगायतका यन्त्र प्रयोग गरी दोहन गर्ने क्रियाकलापले पानीको मुहान सुक्दै गएको, पशुपन्छी पलायन तथा लोपको अवस्था सिर्जना भएको प्रसङ्ग उल्लेख गरे।

नेपालको ६० प्रतिशत जनसङ्ख्या र अन्न भण्डार भएको क्षेत्रको संवेदनशीलतालाई ध्यानमा राख्दै विकास योजना कार्यान्वयन गर्नुपर्दछ भन्दै उनले तराई मधेशलाई डुबान पार्ने क्रियाकलाप तुरुन्त बन्द गर्नुपर्ने बताए ।

वैज्ञानिक अध्ययन नगरी निजगढमा विमानस्थल निर्माण कार्य गर्नु विडम्बना हो भन्दै पूर्वराष्ट्रपति डा यादवले सखुवाका रूखलाई कटान गरी विमानस्थल बनाउने योजनाको पुनः मूल्याङ्कन गर्नु आवश्यक रहेको धारणा राखे ।

‘जङ्गल नष्ट गरी रेलको विस्तार गर्ने योजनाबारे पनि पुनः चिन्तन गर्नुपर्दछ’, उनले भने। पूर्वराष्ट्रपति डा यादवले चुरेबाट निस्केको नदीको व्यवस्थापन हुने गरी विज्ञद्वारा चुरे संरक्षणका लागि बनाइएको गुरुयोजनाअनुरूप छुट्टै ऐन बनाउनु आवश्यक भएको बताए ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशमा अल्पदृष्टि एवम चिन्तन राखी योजना बनाउने प्रवृत्तिका कारण सङ्कट बढ्दै गएको भन्दै सिङ्गो देशकै गुरुयोजना बनाउनु पर्नेमा उनको जोड छ ।

लहरे भरमा कार्य गर्न खोज्दा गहन सङ्कट देखिएको चर्चा गर्दै उनले देशमा तीन राजमार्ग आवश्यक भएको यथार्थभन्दा टाढा गई एउटै निकायको सोचका आधारमा राजमार्ग बनाउने योजना अघि सारिएका कारण जटिलता उत्पन्न भएको चर्चा गरे ।

प्रकृतिसँग खेलबाड गर्ने नाममा अपूरणीय क्षति गर्ने होइन भन्दै उनले निजगढ विमान निर्माणस्थलका सन्दर्भमा मूल वनमा असर नपर्ने गरी निर्माण योजना बनाउनु आवश्यक भएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले चुरेको संरक्षणका लागि सबैको ध्यान जानु जरुरी भएको बताउँदै यसका लागि प्रणालीमा नै सुधारको आवश्यकता भएको बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.