मलेसियामा आममाफी: ४ महिनामा २८ सय १० अवैधानिक नेपाली कामदार स्वदेश फर्किए

डिसी नेपाल
१७ मंसिर २०७६ १०:०६

क्वालालम्पुर । मलेसिया सरकारले अवैधानिक आप्रावासी श्रमिकहरूलाई आममाफी दिई स्वदेश फर्काउन सुरु गरेको कार्यक्रम ‘गुड फर ब्याक’को प्रक्रियाबाट ४ महिनामा २८ सय १० अवैधानिक नेपाली कामदार स्वदेश फर्किएका छन् ।

क्वालालम्पुरस्थित नेपाली राजदूतावासकी कन्सुलर आशु बस्नेतका अनुसार मलेसियन सरकारले देश फर्कन दिएको आम माफी ‘गुड फर ब्याक’ मार्फत अगष्ट १ तारिख देखि नोभेम्बर ३० तारिख सम्ममा ८९ महिला र २ हजार ७ सय २१ पुरुष गरी जम्मा २ हजार ८ सय १० जना नेपालीहरू दूतावासबाट ट्राभल डकुमेन्ट बनाई स्वदेश फर्किएका हुन् ।

आफ्नो राहदानी भएकाहरूले ट्राभल डकुमेन्ट नबनाई सिधै मलेसियाको अध्यागमन विभागमा गई स्वदेश फर्कन पाउने प्रावधान भएको र त्यसको विवरण मलेसिया अध्यागमन विभागबाट नआइसकेकोले अनुमानित ५ हजार नेपाली स्वदेश फर्किएको हुन सक्ने काउन्सिलर बस्नेतको अनुमान छ ।

मलेसियामा रहेका अवैधानिकहरूलाई ‘ब्याक फर गुड’ सकिएपछि निकै कडाइका साथ कारवाही गर्ने यहाँको सरकारले तयारी गरेको छ । मलेसिया सरकारले २०२० को जनवरी १ तारिख देखि नै अवैधानिकहरूको लागि कडा अप्रेसनको तयारी गरिरहेको छ । उसले यसको लागि जरिवाना तथा जेल सजाय बढाउने भएको छ ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले बाँकी रहेको अवधिमा अवैधानिक सम्पूर्ण नेपालीलाई यो अवसरको लाभ लिन आग्रह गरेका छन् ।‘यो अबधिमा स्वदेश नफर्किनु भनेको दुर्भाग्य हो, धेरै ठुलो जोखिम उठाउनु हो । यो अन्तिम आम माफीको अबसरको सदुपयोग गरी डिसेम्बर भित्र नै स्वदेश फर्कन आग्रह गर्दछौं,’ उनले भने ।

मलेसियामा ११ हजार अवैधानिक नेपाली रहेको दूतावासको अनुमान छ। आम माफीको अवधि १ महिना मात्र बाँकी हुँदा स्वदेश फर्कनेको संख्या पनि केही बढेको राजदूत पाण्डेले बताए।  अवैधानिक रूपमा मलेसियामा रहेका नेपालीहरूका परिवार र मलेसियास्थित नेपाली संघ संस्थालाई उनीहरूलाई स्वदेश फर्काउनको लागि पहल र प्रेरित गर्नसमेत राजदूत पाण्डेले आग्रह गरेका छन् ।

यो अवसर गएको अगष्ट १० देखि लागू भएको थियो भने डिसेम्बर ३१ मा सकिनेछ। सो कार्यक्रमअनुसार स्वदेश फिर्ता हुन केही प्रक्रिया भने पूरा गर्नुपर्ने हुन्छ । जसमा दण्ड जरिवाना ७ सय , स्पेसल पास १ सय  र नेपाली राजदूतावासको राजस्व १ सय ६० मलेसियन रिङगेट बुझाउनुपर्छ।  साथै हवाइ टिकट कामदार स्वयमले व्यवस्थापन गर्नुपर्नेछ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्कन सहज बनाउन मलेसियास्थित नेपाली दूतावास आफैले निःशुल्क फारम भर्ने ब्यवस्था गर्दै आएको छ ।  उक्त सेवा लिन राहदानी वा नेपाली नागरिकताको प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो पेश गर्नुपर्नेछ । सोही कार्यक्रमलाई लक्षित गरी नेपाली राजदूतावास मलेसियाले क्वालालम्पुर भन्दा बाहिर विभिन्न राज्यमा  यात्रा अनुमति पत्र बनाउने सेवा उपलब्ध गराउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *