ठूला दल विदेशीबाट पैसा खान्छन् : कमल थापा (भिडियाे)

डिसी नेपाल
१७ मंसिर २०७६ १०:४९

वासिंगटन डिसी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालका ठूला राजनीतिक दलहरु विदेशीसँग पैसा लिएर नेपालमा चुनाव लड्ने गरेको गम्भीर आरोप लगाएका छन्।

अमेरिकाको भ्रमणमा आएका अध्यक्ष थापाले बाल्टिमोरमा डिसेम्बर १ मा आयोजित उनकै पार्टीको एउटा सार्वजानिक समारोहमा यस्तो आरोप लगाएका हुन्।

उनले यसरी पैसा लिएर जित्नेहरुबाटै नेपाललाई सिक्किम बनाउने खतरा भएको बताए। राप्रपाको प्रवास संगठन प्रवासी नेपाली एकता समाज अमेरिकाको प्रथम अधिवेशनको उद्घाटन गर्दै बाल्टिमोरस्थित नेपाली समाज बानाको सभाहलमा उनले भने, ‘हाल जेलमा रहेका सभामुख कृष्णबहादुर महराले चुनाव जित्नकै लागि एकजना विदेशीसँग पचास करोड रकम मागेको भिडियो संचारमाध्यममा आएको थियो। यो त एउटा उदाहरण मात्र हो।’

तत्कालीन एमाओवादीका नेता महराले एकजना चिनियाँ व्यापारीसँग पैसाको माग गर्दै गरेको अडियो केही बर्षअघि सार्वजानिक भएको थियो। थापाले भने, ‘यो त एउटा उदाहरणमात्र हो, ठूला दलहरुले विभिन्न माध्यमबाट बिदेशीहरुसँग पैसा लिएर चुनाव जितेका हुन्।’

अध्यक्ष थापाले विदेशी भूमिमा बस्ने नेपालीहरुको सो कार्यक्रममा को को विदेशीसँग ठूला दलले पैसा लिन्छन् भन्नेबारे भने केही पनि बताएनन् । बरु, उनले गलत तरिकाले चुनाव जितेकाले राष्ट्रघातीहरुबाट नेपाललाई सिक्किम बनाउने खतरा रहेको दावी गरे।

उनले सनातन हिन्दू धर्मसहितको राप्रपाको देशभक्तिपूर्ण आदर्श नेपाली जनतालाई बुझाउन नसकेको बताएका थिए। कार्यक्रममा अमेरिकाको पेन्सिलभेनिया र मेरिल्याण्डका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत प्रेमराजा महत, मेरिल्याण्ड राज्यका स्थानीय सांसद स्टेट डेलिगेट ह्यारी भण्डारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा, जनसम्पर्क समितिका राज सेन्चुरी, गैरआवासीय नेपाली महासंघकी उपाध्यक्ष रविना थापा तथा महासंघका अन्य प्रतिनिधिहरु राजन त्रिपाठी, कृष्णजीवी पन्त र बानाका अध्यक्ष सुवोधविलास पन्तले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए।

राप्रपाको प्रवासी संगठन प्रवासी नेपाली एकता समाज युएसएका अध्यक्ष लोकनाथ तिवारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पारसमणि श्रेष्ठले स्वागत तथा राप्रपाका प्रवास विभाग सहमहामन्त्री प्रेमकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरे।

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *