बागलुङ जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार
तानसेन । मङ्गलबार बागलुङको बडिगाड गाउँपालिका–७ अल्छीबाङमा जीप दुर्घटनामा ज्यान गुमाएकाको सामूहिक दाहसंस्कार गरिएको छ। इस्मा गाउँपालिका–४ दोहोली र पाँच रजस्थलका १० जनाको सामूहिक दाहसंस्कार गरिएको हो।
दुर्घटनामा मृत्यु भएका इस्मा–४ का ४० वर्षीय महेन्द्र कार्की, २५ वर्षीया सूचना कार्की, ४० वर्षीया सीता कार्की, ६५ वर्षीय झवि कार्की, ४५ वर्षीय भुमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षीय धनबहादुर कार्की र दुई वर्षीया अनुस्का कार्कीको दाहसंस्कार गरिएको छ।
त्यस्तै सोही गाउँपालिका वडा नं ५ की ४० वर्षीया बवसुन्धरा कार्की र २३ वर्षीया माया थापाको पनि सामूहिक दाहसंस्कार गरिएको स्थानीय लङ्कबहादुर बस्नेतले बताए ।
अस्पतालमै शव
कञ्चनपुरबाट धनबहादुर कार्की पहिलोपटक दाजुभाइ खोज्दै कुलपूजाका लागि इस्मा आएका थिए तर दाजुभाइसँगको भेट अन्तिम मात्रै रह्यो । जे उद्देश्य बोकेर आए, त्यो पूरा भएन । अन्तत घरसमेत फर्किन पाइएन । कुलपूजाकै लागि इस्मा आएका ५५ वर्षीय कार्कीको पनि दुर्घटनामा परी मृत्यु भयो । उनको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।
उनका आफन्त आएपछि बुझाइने भएकाले शव अस्पतालमै राखिएको भतिज बद्री कार्कीले जानकारी र्दि।
बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको शव आफन्तले गाउँमै बुझेर दाहसंस्कार गरेका छन् । लक्ष्मी घरबाट गाडी चढेको दुई मिनेटमै दुर्घटनामा परेकी थिईन् ।
इस्मा–४ का गाडी चालक २५ वर्षीय रेशम थापाको शव मङ्गलबार नै परिवारले बुझेका थिए । उनको निस्ती दोभानमा आज बिहान दाहसंस्कार गरिएको स्थानीय रामबहादुर रेश्मीले जानकारी दिए ।
त्यस्तै नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुना कार्कीको शव नवलपरासी लगिएको छ।
बेपत्ताको खोजी, घाइतेको उपचार
दुर्घटनामा परेका इस्मा–४ दोहोलीका धनबहादुर कार्की अहिलेसम्म पनि बेपत्ता छन् । बुहारी सूचना कार्कीको मृत्यु भयो । नाति चार वर्षीय हिमाल कार्की अस्पतालमा छन् । मङ्गलबार दिनभर दुर्घटनास्थलमा खोजतलास गरे पनि शव भेटिएको छैन । दुर्घटनामा नवलपरासी बर्दघाट–२ का १८ वर्षीय जीवन कार्की, गुल्मी इस्मा गापा–४ का चार वर्षीय हिमाल कार्की र २४ वर्षीया निमा केसी घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ । अहिले त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको छ।
गाउँपालिकाद्वारा शोक बिदा
दुर्घटनामा ज्यान गुमाउनेमध्ये अधिकांश इस्मा गाउँपालिकाका छन् । जसले गर्दा गाउँपालिका र सिङ्गो जिल्ला शोकमा डुबेको छ । इस्माका पनि विशेष गरी कार्की र बस्नेत परिवार बढी शोकमा छन् । कतिका सिन्दूर पुछिएका छन्, भने कतिका काख रित्तिएका छन् । दुर्घटनामा इस्मालीले ज्यान गुमाएको भन्दै गाउँपालिकाले आज शोक बिदा दिने निर्णय गरेको छ ।
दुर्घटनामा मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक बिदा गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिए। उनले तत्काल कार्यपालिकाको बैठक बसेर मृतक तथा घाइते परिवारको लागि पनि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताए।
अहिले विद्यालयमा अर्धवार्षिक परीक्षा सञ्चालन भएको छ । गाउँपालिकाले आज स्थगित प्रावि तहको परीक्षा यही मङ्सिर १९ र निमावि तथा माविको मङ्सिर २० गते सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment