‘ओली लेखक पक्राउ गरेकोमा प्रधानमन्त्रीले क्षमा माग्नुपर्छ, नभए राजीनामा दिनुपर्छ’
दाङ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विगतमा केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ गरिएको प्रसङ्ग उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले सुनसरी घटनाको जिम्मेवारी लिनुपर्ने वा पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।
महासचिव पोखरेलले भने, “भदौ २४ गतेको घटनासँग जोडेर तत्कालिक प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरियो। यदि सुरक्षा निकायको बल प्रयोगको जिम्मा राजनीतिक नेतृत्वले लिनुपर्ने नजिर हो भने वर्तमान सरकारले पनि कप्तानगञ्ज घटनामा भएको क्षतिको जिम्मेवारी लिनुपर्छ। कि त प्रधानमन्त्री र गृहमन्त्रीले विगतमा नबुझीकन कारबाही गरिएको भन्दै क्षमा माग्नुपर्यो, नभए राजीनामा दिएर मुद्दा चलाउनका लागि बाटो खोलिदिनुपर्छ। शासन व्यवस्थामा दोहोरो मापदण्ड सह्य हुँदैन।”
दाङमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महासचिव पोखरेलले सरकारको स्वेच्छाचारी कदम र गलत गतिविधिलाई रोक्न एमाले जुनसुकै बेला सडक आन्दोलनमा उत्रिन तयार रहेको चेतावनी समेत दिए। सरकार गठन भएको चार महिना मात्र भएकाले तत्कालै विकल्प नखोजिएको स्पष्ट पार्दै महासचिव पोखरेलले सरकार गलत बाटोमा हिँडे प्रतिपक्षी दलहरू ऐक्यबद्ध भएर प्रतिरोध गर्ने बताए।
पोखरेलले भने “सरकारको विकल्प खोज्ने ठाउँमा त हामी पुगिसकेका छैनौँ। तर स्वेच्छाचारी ढङ्गले चलेका गतिविधिलाई रोक्न जनता र कार्यकर्ता फेरि सडकमा आउनुपर्ने स्थिति हुन सक्छ। मुलुक र जनाधिकारको रक्षाका लागि हाम्रा कार्यकर्ताहरूलाई जुनसुकै बेला सडकमा आउन तयार भएर बस्न निर्देशन दिइएको छ।”
पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको नाममा गिरफ्तार गरिएको विषयप्रति कडा आपत्ति जनाउँदै उनले नेपालको जटिल कर प्रणालीका कारण मानिसहरूले आफ्नो आयको वैधता पुष्टि गर्न नसकेको विषयलाई सोझै ‘कालो धन’ मान्नु अनुचित भएको तर्क गरे। यस्तो प्रवृत्ति कायम रहे मुलुकमा व्यापार-व्यवसाय गर्ने सबै क्षेत्र कालो धनको शिकार बन्ने जोखिम रहेको उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment