यूएईविरुद्ध जित्नैपर्ने खेलमा टस जितेर बलिङ गर्दै नेपाल, यस्तो छ सुरुवाती ११

डिसी नेपाल
१४ भदौ २०७५ १:२३

काठमाडौं । एसीसी एसिया कप छनोटको दोस्रो खेलमा नेपालले यूएईविरुद्ध टस जितेर बलिङ गर्दैछ।

क्वालालम्पुरस्थित किनरा ओभल मैदानमा यूएईविरुद्धको खेललाई आइसीसीले एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई)को मान्यता दिएको छ।

गत मार्चमा ऐतिहासिक ओडिआई मान्यता पाएपछि नेपालले तेस्रो ओडिआई खेल्न लागेको हो। यसअघि दुई खेलको ओडिआई श्रृखंलाका लागि नेदरल्याण्ड्स भ्रमण गरेको नेपालले एकमा जित र एकमा हार निकालेको थियो।

एसिया कपमा जित हात पार्न नेपालका लागि यस खेलमा जित्नै पर्ने दबाब छ। एसिया कप छनोट खेलिरहेका ६ देशमध्ये शीर्ष स्थानमा रहने एक देशमात्रै एसिया कपमा छनोट हुनेछ। छनोट भएको टोली समूह ए मा पर्दै भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ।

पहिलो खेलमा बुधबार ओमानसँग ७ विकेटले पराजित भएुसँगै जित्नै पर्ने दबाब आइपरेको हो। यस खेलमा पराजित भएमा नेपालको शीर्ष स्थानमा पर्ने सम्भावना लगभग सकिनेछ।

युएईले पहिलो खेलमा बुधबार नै सिंगापुरलाई २१५ रनको फराकिलो रनले पराजित गरेपछि नेपालमाथि दबाब झनै बढेको हो। अंकसँगै रनरेटका आधारमा पनि यूएई नेपालभन्दा माथि छ।

५० ओभरका खेलमा नेपाल र यूएई अहिलेसम्म १४ खेलमा आमने सामने भएका छन्। जसमा यूएई हावी देखिन्छ। यूएईले १० खेल जित्दा नेपालले तीन खेलमात्रै जित्न सकेको छ भने एक खेलमा बराबरीको नतिजा आएको छ।

अन्तिम पटक यी दुई टोली २०१८ मा भएको डिभिजन टू मा भिडेका थिए। जस लिग चरणमा भएको खेलमा नेपालले यूएईलाई ४ विकेटले पराजित गरेको थियो भने फाइनलमा पुनः यी दुई टोली नै भिड्दा यूएई ७ रनले विजयी भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *