जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न नेकपाको निर्देशन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश नं ३ ले जिल्ला तहमा एकता नहुँदासम्मका लागि पदाधिकारीहरुलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिएको छ।
प्रदेश नं ३ इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवले जिल्ला तहमा पार्टीको गतिविधिमा शून्यता भएपछि पूर्वनेकपा एमाले र पूर्वनेकपा माओवादी केन्द्रका जिल्ला कमिटीका पदाधिकारीलाई आफ्ना मातहतका जिल्ला कमिटीलाई एकीकृत रुपमा गतिविधि गर्न निर्देशन दिइएको हो ।
प्रदेश इञ्चार्ज अष्टलक्ष्मी शाक्यले जिल्ला तहमा कार्यक्रम सञ्चालन नभएपछि पार्टीलाई चलायमान गराउनका लागि दुवै पार्टीका कमिटीलाई संयुक्त रुपमा गतिविधि सञ्चालन गर्न निर्देशन दिइएको जानकारी दिए।
नेकपाले यसअघि जिल्ला कमिटी एकीकरण नहुँदासम्म कार्यक्रम गर्न रोक लगाएको थियो । यसले गर्दा दुवै पार्टीका तल्ला कमिटी एकीकरण नहुँदा गतिविधि ठप्प थियो।
दुवै जिल्ला कमिटीलाई प्रदेश पदाधिकारीको परामर्शमा गतिविधि गर्न भनिएको छ । “केन्द्रमा पार्टी एकीकरण भए पनि जिल्ला तहमा एकीकरण नहुँदा गतिविधि ठप्प भएका थिए”, उनले भने, “जिल्ला कमिटीको एकीकरण नहुँदासम्म दुवै पार्टीका जिल्ला कमिटीका पूर्वपदाधिकारीलाई जिल्लामा योजना कार्यक्रम बनाई गतिविधि गर्न भनेका छौँ ।”
उनको निर्देशनानुसार जिल्ला कमिटीले पनि धमाधम कार्यक्रम र योजना बनाई गतिविधि सञ्चालन गरिरहेका छन् । प्रदेश पदाधिकारीले ती जिल्ला कमिटीलाई पार्टी कार्यालय सञ्चालन एकै ठाउँबाट गर्न, सङ्गठित सदस्यलाई एकीकृत गर्न तथा भौतिक सम्पत्ति र खाता सञ्चालन गर्न पनि एकैबाट गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताए ।
केही दिनअघि मात्र पार्टी सचिवालय बैठकले परिपत्र जारी गदै प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव तोकेर पार्टीको विधान, नियमावली र निर्देशनानुसार जिल्ला तह तथा जिल्ला मातहतका सबै कमिटीको एकीकरण गर्न निर्देशन दिएको थियो ।
यस्तै प्रदेश पदाधिकारीले दुवै पार्टीका क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीलाई गतिविधि गर्न समेत भनेको छ । दुवै जिल्ला कमिटीलाई क्षेत्रीय, नगर, गाउँ र वडा कमिटीको एकीकरणको प्रस्ताव प्रदेशमा पेश गर्न समेत निर्देशन दिइएको इञ्चार्ज शाक्यले बताए ।
प्रदेश नं ३ इञ्चार्जमा शाक्य, सहइञ्चार्जमा हितमान शाक्य, अध्यक्ष नारायण दाहाल र सचिवमा आनन्द पोखरेल रहनुभएको छ । सो प्रदेशमा काठमाडौँ, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपञ्लाचोक, सिन्धुपाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, चितवन र मकवानपुर छन् । उनले १३ वटै जिल्लामा आफूहरु पुगी कार्यक्रम योजना र भेलासमेत गर्ने बताए।
जिल्ला कमिटीले दशैँतिहार र छठका अवसरमा कार्यक्रमसमेत तय गर्न थालेको उनले जानकारी दिए। “हामी आफैँ पनि जिल्ला पुगेर भेलामा सहभागी हुन्छौँ”, उनले भने, “दशैँ अघि नै पार्टीका जिल्ला तहमा धेरै गतिविधि हुन्छ ।”
No ads found for this position

डिसी नेपाल
Facebook Comment