कोपा अमेरिकाबाट नेमार बाहिरिए

डिसी नेपाल
२३ जेठ २०७६ ७:४६

ब्रासिलिया । ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फुटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो ।

ब्राजिली फुटबल महासँघले जारी गरेको वक्तव्यमा नेमारको चोट निकै गम्भीर किसिमको भएकाले कोपा अमेरिका कपमा सहभागी हुने सम्भावना नरहेको उल्लेख छ ।

एक साताभित्रै शुरु हुन लागेको दक्षिण अमेरिकाको यस प्रतिष्ठित प्रतियोगितामा नेमारको अनुपस्थितिले ब्राजिलमाथि ठूलो चुनौती थपिएको छ । नेमार विश्वकै सर्वाधिक सफल एवं महङ्गा खेलाडीमध्येका एक हुन् ।

बुधबार राति ब्रासिलियाको मेन गारिन्चा रंगशालामा कतारसँगको खेलमा २० मिनेटभित्रै नेमार चोटग्रस्त भएका थिए । उनी हाल फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनबाट खेल्छन् ।

नौ दिनपछि नै कोपा अमेरिका कपमा ब्राजिलको पहिलो खेल बोलिभिया विरुद्ध रहेको छ । कोपा अमेरिकाको आयोजक राष्ट्र पनि ब्राजिल नै हो । सन् २००७ यता ब्राजिलले कोपा अमेरिका कप जित्न सकेको छैन । रासस/एएफपी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *