पर्यटन प्रवद्र्धन गर्न मोटरसाइकल यात्रा शुरु

डिसी नेपाल
२८ जेठ २०७६ १३:१२

भद्रपुर । नेपालसहित भारत ३० युवाले आजदेखि पूर्वी पहाडका धार्मिक एवं पर्यटकीय क्षेत्रको मोटरसाइकल र्याली (यात्रा) शुरु गरेका छन्।

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काँकडभिट्टाबाट शुरु गरिएको यात्रा इलामको धार्मिक पर्यटकीयस्थल सन्दकपुर हुँदै पाँचथरको याकचोक पुगेर टुङ्गिने मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन समितिका कार्यकारी निर्देशक केशव धौरालीले बताए।

‘हात्तीदेखि रेडपाण्डासम्म’ भन्ने उद्घोषका साथ शुरु यात्रामा रेडपाण्डाको बासस्थानको संरक्षण र हात्ती हिँड्ने करिडोरको अवस्थाका बारेमा अध्ययन–अवलोकन गरिने जनाइएको छ।

इलामको सन्दकपुर जाने पर्यटकमा भारतीय बाटो प्रयोग गरेर जानेको सङ्ख्या नै अत्यधिक रहेकाले सन्दकपुर जान नेपाली बाटो प्रयोग गराउने पनि यो यात्राको उद्देश्य रहेको यात्राको सहजीकरण गरिरहनुभएका ग्रीन जेनेरेशनका अध्यक्ष अर्जुन कार्कीले बताए।

र्यालीको उद्घाटन प्रदेश नं १ की सांसद तथा पर्यटन विकास बोर्डकी अध्यक्ष सीता थेबेले गरेकी थिइन्। यात्रामा सहभागीले इलामको बिब्ल्याँटे, माइपोखरी, जौबारी हुँदै सन्दकपुर पुग्ने कार्यक्रम रहेको छ। सहभागीलाई सो रुटमा पर्ने झापा र इलामका पालिकाले खान र बस्नेसहित अन्य सुविधा उपलब्ध गराउने बताइएको छ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। सरकारको उक्त लक्ष्य प्राप्तिका लागि पनि मोटरसाइकल यात्राले सहयोग पुर्याउने कार्यकारी निर्देशक धौरालीको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *