छिट्टै यूरोपको आकाशमा नेपाली विमान उड्छन् : मन्त्री भट्टराई

डिसी नेपाल
२९ साउन २०७६ २०:०१

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले युरोपेली युनियनको आकाशमा छिट्ै नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरेका छन्।

चेम्बर अफ कमर्शले बुधबार राजधानीमा गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तराष्ट्रिय उड्डयन सुरक्षा मापदण्ड पालना गर्नुको साथै उड्डयन अडिटमा नेपालको अवस्था निकै राम्रो रहेकाले अब उडानमा रोक लगाईरहनुपर्ने आवश्यकता नरहेको बताएका हुन्।

उडानमा लगाईएको रोक फुकुवा गराउने सम्बन्धमा आफुले छलफल र वार्ता गरिरहेको भन्दै उनले छिट्ै युरोपेली मुलुकको आकाशमा नेपाली विमानले उडान भर्ने विश्वास व्यक्त गरे।

उनले अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनको उडान सुरक्षा मापदण्ड विश्वमा सरदर ६० प्रतिशत रहेकोमा नेपालको ६६ दशमलब ५ प्रतिशत रहेकाले अब उडानमा रोक लगाउनुपर्ने कुनै औचित्य नरहेको बताए।

ईयुले सन् २०१३ देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोक लगाउदै आएको छ। मन्त्री भट्टराईले हालै मात्रै हिमालयन एयरलाईन्सलाई चाईनाका थप गन्तव्यका लागि र श्री एयरलार्ई दिल्ली, कोलकोत्ता, अहमदावाद र ढाका उडानका लागि अनुमति दिएको जानकारी दिदै सरकार सधै नीजी क्षेत्रलाई प्रोत्साहित गर्दै नीतिगत अप्ठ्याराहरु खोल्न तयार रहेको बताए।

उनले आन्तरिक उडानमा विदेशीले तिर्नुपर्ने शुल्कका बारेमा मन्त्रालयले छिटै सरोकारवालासंग छलफल गर्ने तयारी गरेको जानकारी पनि दिए।

मन्त्री भट्टराईले नेपाल आउने पर्यटकको साथै सबै यात्रुको सम्मान होस् भन्नका लागि सबैमा सकारात्मक सोचको विकास गराउने उद्देश्यले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा खटिने सबै क्षेत्र र तहका कर्मचारीलाई तालिम दिने तयारी मन्त्रालले गरेको बताए।

कार्यक्रममा चेम्बर अफ कमर्श का अध्यक्ष राजेश काजी श्रेष्ठले ट्राफिकका कारण जहाजलाई धेरै समय आकाशमा होल्ड गराउने र लगेज लिन समय लाग्ने समस्याको सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराएका थिए। त्यसैगरी विमानस्थल भित्र रहेको ड्युटी फ्रिलाई प्रभावकारी बनाउन पनि आग्रह गरे।

चेम्बरले पर्यटन वर्ष नजिकिदै गर्दा पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका विषयमा अन्तरक्रिया गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *