अब रवि लामिछानेलाई के गरिन्छ ? यस्तो छ कानुनी व्यवस्था

डिसी नेपाल
३१ साउन २०७६ १४:५५

काठमाडौं। न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासँग कार्यक्रम चलाउँदै आएका रवि लामिछानेलाई पक्राउ गरिएपछि अहिले यस विषयमा बहस तातेको छ । उनलाई चितवन जिल्ला अदालतमा पेश गरिएको छ र अहिले थुनछेकको बहस जारी छ । अबको कानुनी प्रक्रिया के हुन्छ भन्नेबारे धेरैको चासो छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो। शालिकरामले केही समयअघि मात्र न्यूज २४ टेलिभिजन छाडेका थिए । शालिकरामले मर्नुअघि रेकर्ड गरेको भनेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीमाथि आफूलाई आत्महरुया गर्न बाध्य पारेको आरोप लगाएका थिए । यही भिडियो सार्वजनिक भएपछि रविलाई अनुसन्धानको लागि पक्राउ गरियो ।

यसरी पक्राउ गरिएपछि सबैभन्दा पहिले अदालत पेश गर्नुपर्ने हुन्छ सोहीअनुसार आज उनलाई अदालत पेश गरियो । अहिले अदालतमा थुनछेकको बहस चलिरहेको छ । आजको बहसपछि अदालतले के आदेश दिन्छ त्यहीअनुसार थप अनुसन्धान अगाडि बढ्छ । प्राप्त जानकारीअनुसार भिडियो बुधबार मात्र सार्वजनिक भएको भए पनि यो भिडियो प्रहरीले भने पहिले नै प्राप्त गरेको थियो । पत्रकार पुडासैनीको मोवाइलमै यो भिडियो भएको बताइएको छ । भिडियो भेटिएपछि यस विषयमा प्रहरीले केही अनुसन्धान गरिसकेको छ । रविको आफ्नै र उनको टिमका सदस्यहरुका मोवाइलको प्राविधिक अनुसन्धान पनि भइरहेको छ ।

आज अदालतमा पेश गरेको प्रहरीले सरकारी वकिलमार्फत रविसहित तीनै जनालाई केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने अनुमान गर्न सकिन्छ किनकि अन्य मुद्दामा पनि प्रायः प्रहरीले यही गर्छ । अदालतले प्रहरीलाई अनुमति दिन्छ वा दिन्न त्यो अदालतले जान्ने कुरा हो । कानुनअनुसार २५ दिनसम्म यसरी हिरासतमा म्याद थप्दै राख्न सकिन्छ । यसका लागि अदालतले अनुमति दिनु पर्छ । प्रहरीले कत्तिको बलियो आधार र प्रमाण पेश गर्छ त्यसका आधारमा अदालतले आदेश दिने हो । प्रहरीको आधार प्रमाण कमजोर भए अदालतले रविलाई हिरासतमा राखेर अनुसन्धान गर्न जरुरी छैन भनेर अनुमति नदिन पनि सक्छ ।

प्रहरीले पेश गर्ने आधार प्रमाणका आधारमा अदालतले तीनमध्ये एक आदेश दिन सक्छ । आधार प्रमाण बलियो देखियो र रवि दोषी भएको सम्भावना बढी भएको अदालतलाई लाग्यो भने न्यायिक हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने आदेश दिइने सम्भावना हुन्छ । रवि दोषी हुन् वा होइनन् भन्ने प्रस्ट देखिएन तर उनी दोषी नभएको वा भएको सम्भावना आधाआधिजस्तो भयो भने धरौटीमा रिहा गर्ने आदेश दिइने सम्भावना हुन्छ । यदि रवि दोषी भएको भन्दा निर्दोष भएको सम्भावना बढी देखियो भने साधारण तारेखमा पनि छाड्ने आदेश दिइन सक्छ ।

यद्यपि आज अदालतमा रविका समर्थकले ठूलै विरोध गरेका छन् । उनीहरुले रविलाई निःशर्त रिहा गर्न माग गरेका छन् । सामाजिक संजालमा पनि चर्को दबाब छ । यस्तो स्थितिमा यो दबाबले अदालतको आदेश फरक पार्ने सम्भावना पनि देखिन्छ । तर, यो विषयमा यत्तिकै भन्न सकिँदैन । यो कुरा न्यायाधीशको स्वविवेकले हेर्दा जे सही देखिन्छ त्यही हुने हो । हाम्रो कानुनमा न्यायाधीशलाई केही कुरामा स्वविवेकले निर्णय गर्ने अधिकार पनि दिइएको छ ।

अदालतले आज के आदेश दिन्छ त्यो हेर्न बाँकी नै छ । आज जे आदेश दिइए पनि त्यसपछि थप अनुसन्धान अगाडि बढ्नेछ । अनुसन्धान सकिएपछि प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालतमा मुद्दा दायर गर्छ । कानुनमा आत्महत्या गर्न दुरुत्साहन दिने र आत्महत्या गर्नुपर्ने परिस्थिति सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था कानुनमा छ । रवि दोषी हुन् वा होइनन् अदालतले ठहर गर्ने विषय हो । उनी निर्दोष ठहरिए आरोपमुक्त हुनेछन् । यदि दोषी नै ठहरिए पनि कानुनमा तोकिएको यो सजाय यो अभियोगमा अधिकतम सजाय हो । न्यायाधीशले परिस्थिति हेरेर योभन्दा कम सजाय पनि दिन सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *