उदयपुरको तराई क्षेत्रमा डेङ्गु रोग फैलन थाल्यो

डिसी नेपाल
२ भदौ २०७६ ८:२६

उदयपुर । उदयपुर जिल्लाको तराई क्षेत्रका भूभागमा केही दिनदेखि डेङ्गु फैलन थालेको छ। केही हप्तायता आएर जिल्लाको पूर्वी क्षेत्रको बेलका चौदण्डीगढी, त्रियुगा नगरपालिकासहित जिल्लाको पश्चिमी क्षेत्रको कटारी क्षेत्रमा समेत डेङ्गु फैलन थालेको छ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार अहिले सबैभन्दा बढी डेङ्गु कटारी क्षेत्रमा फैलन थालेको र त्यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट र चौदण्डीको बेल्टार बसाहा तथा बेलकाको रामपुर ठोक्सिला क्षेत्रमा फैलन थालेको हो।

डेढ महीना अघि कटारीमा दुईजना र चौदण्डीको बेल्टारस्थित बिपी चोकमा एकजनामा देखा परेको डेङ्गु विस्तारै फैलँदै जान थालेपछि अहिले कटारी, त्रियुगा, चौदण्डी र बेलका क्षेत्रमा गरेर झण्डै डेढ दर्जनमा डेङ्गु रोग फेला परेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रमेश खकुरेलले बताए ।

पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग लाग्न थालेपछि बिरामीमा ज्वरो आउने, शरीरमा दादुराजस्ता स–साना फोका देखा पर्ने, लिभर फुलिने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्नेजस्ता लक्षण देखा पर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

यसरी डेङ्गुबाट बिरामी परेकामध्ये केहीलाई जिल्लामा नै उपचार भइरहेको र केही बिरामी जिल्ला बाहिर सुनसरीको धरान तथा १ नम्बर प्रदेशको विराटनगरका अस्पतालमा उपचार भइरहेकोसमेत स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ।

डेङ्गु फैलन थालेपछि यसको जानकारी प्रदेश सरकार र प्रदेश स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको र यसको नियन्त्रणको विषयमा समेत छलफल शुरु गरिएको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *