कर्मचारीलाई काममा तीव्रता दिन मुख्यमन्त्री शाहीको निर्देशन
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्मचारीलाई काममा तीव्रता दिन निर्देशन दिएका छन्।
मुख्यमन्त्री शाहीले नेपाल विद्युत् प्राधिकरण दैलेख–कालीकोट विद्युत् प्रशारण लाइन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरीसहितको कर्मचारी टोलीसँगको भेटमा विद्युत् लाइन विस्तार छिटै सम्पन्न गर्न निर्देशन दिए।
सो अवसरमा आयोजना प्रमुख चौधरीले विद्युत् प्रसारण लाइन विस्तारको कार्य तीव्रताका साथ अघि बढेको र बीचमा पर्ने केही रुख कटान तथा कालीकोट सदरमुकाम मान्मामा सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिएका थिए।
छलफलका क्रममै मुख्यमन्त्री शाहीले कालीकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका प्रमुखलाई फोन गरेर सबस्टेशनका लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरेका थिए।
‘रुख कटानसम्बन्धी समस्या हल गर्न म आफैँ पनि पहल गर्छु’ उनले भने, ‘तपाईहरु छ महिनाभित्रै कालीकोटमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा उपलब्ध गर्ने गरी काम गर्नुहोस्।’ आयोजना प्रमुख चौधरीले सबस्टेशन निर्माणको कार्य जारी रहे पनि ११ केभिए क्षमताको विद्युत् सेवा छ महिनाभित्र कालीकोट सदरमुकाम मान्मामा उपलब्ध गर्ने प्रतिवद्धता जनाए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment