नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारी पत्रमा हस्ताक्षर

डिसी नेपाल
१० भदौ २०७६ १८:३२

काठमाडौं । ‘बैंक अफ कोरियो नलेज पार्टनरसिप प्रोग्राम २०१९’ मा नेपाल राष्ट्र बैंक र बैंक अफ कोरियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

मंगलबार भएको सहमति पत्रमा भएको हस्ताक्षर कार्यक्रमको प्रेस विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले समझदारी पत्रमा नेपाल राष्ट्र बैंकका तर्फबाट गभर्नरको कार्यालयका निर्देशक गोविन्दप्रसाद नागिला र दक्षिण कोरियाको केन्द्रीय बैंक, बैंक अफ कोरियाको तर्फबाट उक्त बैंकको अन्तर्राष्ट्रिय मामिला विभागका Deputy Director General, Jee Young JUNG ले हस्ताक्षर गरेको बताएको छ।

कार्यक्रममा बैंक अफ कोरिया र युनिभर्सिटी अफ कोरियाकाको संयुक्त अनुसन्धान टोलीले नेपालको वित्तीय समावेशीकरण वित्तीय साक्षरता र सोसम्बन्धी नीति तथा कार्यक्रमको विषयमा अध्ययन अनुसन्धान गर्ने बताइएको छ।

उक्त अध्ययन पश्चात् टोलीले नेपाल राष्ट्र बैंकलाई अन्तरिम र अन्तिम (विस्तृत) गरी दुई चरणमा नीतिगत सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यक्रम पश्चात् नेपालको वित्तीय समावेशीकरण वित्तीय साक्षरता अभियान विस्तारको लागि महत्वपूर्ण नीतिगत सुझावहरु प्राप्त हुने विश्वास गरिएको छ। साथै, कार्यक्रमबाट दुई बैंकमा भएका अन्य नीतिगत अभ्यासको ज्ञान आदानप्रदानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।’

समझदारीपत्रमा हस्ताक्षर सम्बन्धी समारोहमा नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयका कार्यकारी निर्देशक डा. नेफिल मातङ्गि मास्के र लघुवित्त प्रवर्द्धन तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठको समेत उपस्थिति थियो।

विज्ञप्तिमा भनिएको छ, ‘बैंक अफ कोरियाको तर्फबाट BOK-KPP कार्यक्रम कार्यान्वयनमा ल्याइएको यो तेस्रो पटक हो। यस अघि सन् २०१७ र २०१८ मा क्रमशः समष्टिगत अर्थव्यवस्थाको प्रक्षेपण र भुक्तानीरफछौट प्रणालीको नीतिगत व्यवस्थाका सम्बन्धमा अध्ययन : अनुसन्धान गरी नेपाल राष्ट्र बैंकलाई सुझाव प्रदान गरिएको थियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *