त्रिपालमुनि पढ्दै १४० जना विद्यार्थी

डिसी नेपाल
११ भदौ २०७६ ९:२४

रुकुम पश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१३ स्थित बालकल्याण आधारभूत विद्यालयका विद्यार्थी त्रिपालमुनि पढ्न बाध्य छन्।गत साउन १७ गते आएको पहिराले हम्पाबस्ती र विद्यालय जोखिममा परेपछि यहाँका १४० विद्यार्थी खुलाचौरमा लगाइएको त्रिपालमुनि पढ्न बाध्य बनेका हुन्।

हाल विद्यालय रहेको स्थानभन्दा झण्डै चार किलोमिटर उत्तरमा पर्ने लेकालीखर्क दहको खुलाचौरमा विद्यालयको पठनपाठन शुरु गरिएको शिक्षक खड्क थापाले बताए । उनका अनुसार गाउँमा आएको पहिराका कारण विद्यालयको पठनपाठन नै ठप्प बनेपछि स्थानीयवासी अभिभावकको सल्लाहमा त्रिपालमुनि अध्यापन गराउन थालिएको बताइएको छ।

गत साउनदेखि विद्यालयको पठनपाठन कार्य रोकिएपछि नगरपालिकाले प्रदान गरेको पाँच त्रिपालको सहयोगमा खुलाचौरमै पढाउनुपर्ने बाध्यता आएको प्रधानाध्यापक भीमबहादुर थापाको भनाइ छ। पहिराले विद्यालयको भवनमा क्षति पुर्याएको र गाउँको बस्तीसमेत जोखिममा परेपछि केही समयका लागि खुलाचौरमा पढाइ सञ्चालन गर्नुपरेको उनले बताए ।

खुलाचौर र त्रिपालमुनि पठनपाठन शुरु गरिएसँगै विद्यार्थीको शतप्रतिशत उपस्थिति रहेको बताइएको छ। तर, हाल उक्त स्थानमा शौचालय र खोनपानीको अभावले विद्यार्थीको पठनपाठनमा समस्या पर्ने देखिएको छ। पहिराले हम्पागाउँका १०० बढी घर जोखिममा परेका छन्।

त्यस्तै नौ घर पूर्णरुपमा क्षति भएका वडाध्यक्ष विनोद पुनको भनाइ छ । गत साउन १७ गते आएको पहिरोले स्थानीयवासी ४५ वर्षीया बिर्मी नेपालीलाई बगाएर बेपत्ता बनाएको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *