भारतीय सेनाले यातना दिएको कश्मीरका गाउँलेहरूको आरोप

डिसी नेपाल
१३ भदौ २०७६ ८:०६

बीबीसी । भारत–प्रशासित कश्मीर क्षेत्रको विशेषाधिकार खारेज गर्ने सरकारको निर्णयअघि गाउँलेहरूलाई यातना दिइएको आरोप भारतीय सेनामाथि लागेको छ।

कश्मीरका केही गाउँलेहरूले उनीहरूलाई सुरक्षाकर्मीले विद्युतीय झट्का दिने अनि लौरो र तारले हान्ने गरेको बीबीसीलाई बताए। बीबीसीका शमिर हास्मीले आफूलाई केही गाउँलेहरूले जीउमा लागेको चोट देखाएको बताए।

तर बीबीसीले अधिकारीहरूसँग भने त्यस्तो आरोपको पुष्टि गर्न सकेन। भारतीय सेनाले आफूमाथि लागेको आरोपलाई आधारहीन र बिनाप्रमाणको भएको बताएको छ।

अगस्ट ५ तारिखमा कश्मीरको विशेषाधिकार खारेज गर्ने गरी संविधानको धारा ३७० निष्क्रिय पारेयता उक्त क्षेत्र बन्द छ। दशौँ हजार सैनिकलाई अहिले उक्त क्षेत्रमा परिचालन गरिएको छ।

नेता, व्यापारी र अभियानकर्मीसहित झन्डै तीन हजार मानिसलाई थुनामा राखिएको बताइएको छ। धेरैलाई कश्मीरबाहिरका जेलहरूमा सारिएको छ। अधिकारीहरूले मुस्लिम बाहुल्य भएको उक्त क्षेत्रमा शान्तिस्थिति कायम गर्न आफ्ना कदमहरू रणनीतिक भएको बताएका छन्।

भारतीय सेना पृथक्तावादी विद्रोहीसँग तीन दशकभन्दा बढी समयदेखि यो क्षेत्रमा लडिरहेको छ।भारतीय संविधानको धारा ३७० खारेज गर्ने निर्णयको भारतभरि स्वागत गरिएको छ र मानिसहरूले साहसी निर्णय लिएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन्।

उक्त कदमलाई मूलधारका सञ्चारमाध्यमले पनि समर्थन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *