प्यान नम्बर लिँदा कर तिर्नु पर्दैन : अर्थमन्त्री खतिवडा – Dcnepal

प्यान नम्बर लिँदा कर तिर्नु पर्दैन : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडा (फाईल तस्बिर)


काठमाडौं। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताएका छन्।

नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताएका हुन्।

उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताए।

‘नागरिकता दिँदा सरकारले कर लिएको छ र तपाइँहरुसँग? प्यान लिँदा पनि त्यही हो। प्यान लिए वापत कर तिर्नुपर्ने कुरा त होइन। करदाता परिचयपत्र हो,’ उनले भने।

उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको जनाए। उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मूल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताए।

उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताए।  ‘राष्ट्र बैंकले तिब्बततर्फबाट हुने आयातमा जति मूल्य सटही दिने भन्छ त्यत्तिनै भन्सारमा विगो कायम हुन्छ। २५ हजार डलर दियो २५ हजार डलरमा नै सामान हुन्छ। ३० हजार डलर दियो ३० हजार डलरकै बराबरको हुन्छ,’ उनले भने, ‘दिएकै ३० हजार छ त ३५ हजारको उसले के विवरण भरोस् ? समस्या त्यहाँ छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी सबै कामदारलाई अनिवार्य प्यान नम्बर लिनुपर्ने व्यवस्था नीति क्षेत्रका लागि मान्य नहुने बताए। उनले ढुवानी सेवामा मूल्य अभिवृद्धि कर लगाउँदा दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने भएकाले आम उपभोक्तालाई प्रत्यक्ष असर परेकाले मूल्य अभविृद्धि करको दायरालाई हटाई सेवा कर लगाउने व्यवस्था गर्न आग्रह गरे।

कार्यक्रममा उद्योगीहरुले कर सम्बन्धी सरकारले ल्याएको नया व्यवस्थाले व्यवसाय र व्यवसायी दुवैलाई प्रभावित बनाएको गुनासो गरेका थिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो