जेलबाट निस्केर सुनिलले श्रीमती ज्योतिसँगै आत्महत्या किन गरे ?

डिसी नेपाल
१४ भदौ २०७६ १२:५९

काठमाडौं। पछिल्लो समय आत्महत्याका घटनाहरु बढिरहेका छन् । विभिन्न कारणले मानिसहरु आत्महत्या गरिरहेका छन् । केहीले सुसाइड नोटमा आत्महत्याको कारण बताउने गरेका छन् भने केहीले त्यसै पनि आत्महत्या गर्ने गरेका छन् । नेपालमा आत्महत्याका घटना बढिरहेका बेला छिमेकी देश भारतमा एउटा सनसनीपूर्ण आत्महत्याको घटनाले सबैको होश उडाएको छ ।

दिल्लीसँग जोडिएको हरियाणाको फरीदाबादमा जन्मकैदको सजाय काटिरहेका सुनिल वाधवा र उनकी श्रीमती ज्योति वाधवाले गेष्ट हाउसमा एकसाथ आत्महत्या गरेका थिए । भारतीय दैनिक जागरणका अनुसार पुलिसले पनि यसको कारण पत्ता लगाउन कठिन भएको बताएको छ किनकि उनीहरुले कुनै सुसाइड नोट छाडेका छैनन् । बिहीबार राती उनीहरुले आत्महत्या गरेका थिए । अनुसन्धान अधिकारीका अनुसार उनीहरुको आत्महत्याको पछाडि खास कारण हुन सक्छ । उनीहरु घरबाटै आत्महत्याको योजना बनाएर गेष्ट हाउस गएका थिए वा गेष्ट हाउसमै आत्महत्याको योजना बनाए भन्ने खोजीको विषय बनेको छ ।

बिहीबार बेलुका सुनिलको घरमा श्रीकृष्णको जन्मको छैटौं दिनको उत्सव मनाइएको थियो । यसका लागि पहिले किर्तन त्यसपछि भण्डारा गरिएको थियो । यसमा सुनिल र उनकी पत्नी ज्योतिले खुसीसाथ भाग लिएका थिए । सुनिलकी भाउजु शशीले उनीहरुले यस्तो कदम उठाउँछन् भन्ने कतैबाट पनि नलागेको रुँदै बताइन् । सुनिल जेलबाट पेरोलमा बाहिर आएका थिए र शनिबार पेरोलको अवधि सकिएपछि आफू पुनः जेल फर्किने उनले बताएका थिए । आफू शनिबार जेल फर्किने भएकोले एक रात श्रीमतीसँग बाहिर बिताउने चाहना भएको भन्दै उनले श्रीमती ज्योतिलाई लिएर गेष्ट हाउस गएका थिए । दुवै शुक्रबार बिहान ५ बजेतिर फर्कने भन्दै घरबाट निस्केका थिए ।

शशीका अनुसार ज्योति दुवै छोराहरु १५ वर्षका सम्भव र ८ वर्षका अंशुलाई निकै माया गर्थिन् । एक दिन पनि छोराहरुबिना बस्न सक्दिनथिन् । यस्तोमा ज्योतिले यति खतरनाक कदम उठाउनुको कारण बुझ्न सकिँदैन । शुक्रबार दुवै छोराहरु सधैंझैं स्कुल गएका थिए । उनीहरु स्कुलबाट फर्केपछि घटनाबारे थाहा पाए । यो थाहा पाउनासाथ उनीहरुको होश उड्यो । शुक्रबार सुनील र ज्योतिको आत्महत्याबारे थाहा भएको थियो । सुनील पंखामा झुण्डिएका थिए र ज्योति बेडमा मृत अवस्थामा थिइन् ।

कोठाभित्र के भयो भन्ने स्पष्ट छैन । तर, ज्योतिको घाँटीमा भेटिएको चिन्ह हेर्दा पहिले ज्योतिले आत्महत्या गरेको, त्यसपछि उनको शनलाई तल झारेर त्यही डोरीले पंखामा झुण्डिएर सुनिलले आत्महत्या गरेको आशंका गरिएको छ । ज्योतिको घाँटीमा डोरीको निशान लम्बाइमा भएकोले उनले झुण्डिएर आत्महत्या गरेको अनुमान गरिएको हो । यदि उनको घाँटी थिचेर मारिएको भए डोरीको निशान गोलाइमा हुनुपर्ने थियो । पुलिसले दुवै शवलाई पोष्टमार्टमको लागि बीके अस्पताल पठाएको छ ।

३९ वर्षीय सुनिल १० वर्ष पहिले भएको एक हत्यामा जन्मकैदको सजाय काटिरहेका थिए । अहिले उनी एक महिनाको पेरोलमा घर आएका थिए । शनिबार उनको पेरोलको अवधि समाप्त हुनेवाला थियो त्यसपछि उनी पुनः जेल फर्किनुपर्ने थियो । यएक दिनपछि जेल फर्किनुपर्ने भएकोले बाँकी समय श्रीमतीसँग बिताउने भन्दै सुनिल ज्योतिलाई लिएर निस्केका थिए । उनीहरुले आफूहरु बस्ने गेष्ट हाउस र कोठा नम्बर समेत घरमा बताएर निस्केका थिए ।

बिहान उनीहरु बताएको समयमा घर नफर्केपछि परिवारले फोन गर्न थाले तर फोन उठेन । त्यसपछि १० बजेतिर सुनिलका दाजु अनिल आफ्नी श्रमितीलाई लिएर गेष्ट हाउस गए । शशीका अनुसार उनीहरुलाई सुरुमा भित्र जानै दिइएन । निकै बहसपछि जब कोठा नम्बर ४०६ को ढोका खोल्दा उनीहरुको होश उड्यो । कोठाभित्र दुवै मृत थिए । यसको सूचना तत्काल पुलिसलाई दिइयो । पुलिसले कोठामा कुनै सुसाइड नोट भेटेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *