पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानमा जनशक्ति अभाव

डिसी नेपाल
१६ भदौ २०७६ १०:३७

जुम्ला । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले आइतबार पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको केन्द्रीय कार्यालय गोठीचौर जुम्लामा पुगेर त्यसको अवस्था अध्ययन गरेका छन् ।

प्रतिष्ठानको सङ्गठन तथा भौतिक संरचना, यसले स्थापनाकालदेखि हालसम्मका गरेका गतिविधि तथा कार्यप्रगतिका बारेमा उनले कर्मचारीसँग जानकारी लिएका थिए ।

प्रतिष्ठानका वरिष्ठ वैज्ञानिक वसन्त चालिसेले पूर्व इलामदेखि पश्चिम दार्चुलासम्म पर्वतीय क्षेत्रमा रहेका जिल्लाको नेतृत्व गरेको प्रतिष्ठानमा जनशक्ति अभाव रहेको बताए । “चार वरिष्ठ वैज्ञानिक दरबन्दी रहेको प्रतिष्ठानमा म पनि काजमा आएको छु”, वैज्ञानिक चालिसेले भने, “१८ कर्मचारीमा मात्र नौ कार्यरत छन्।”

जनशक्ति अभावले प्रतिष्ठानको अवस्था बिजोग रहेको उनको भनाइ थियो । उनका अनुसार प्रतिष्ठानमा न कर्मचारी आउने न त सरकारले यसको कुनै चासो लिएको छ। मन्त्री केसीले प्रतिष्ठानबारे जानकारी लिँदै देखिएका समस्या समाधानका लागि सङ्घीय तथा स्थानीय सरकारसँग समन्वय गरी प्रदेश सरकारको तर्फबाट पनि आवश्यक पहल गर्ने जनाए ।

नेपालको एक मात्र अनुसन्धान संस्थाको रुपमा गोठीचौरमा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठान कर्णालीको ठूलो सम्पत्ति भएको र यसको संस्थागत विकासले मात्र यहाँका जनताको समृद्धिमा सहयोग पुग्ने मन्त्री केसीको भनाइ थियो। त्यस्तै, जुम्ला सदरमुकामदेखि डोल्पा जोड्ने सडक अनुगमन गर्नुभएको मन्त्री केसीले जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेसहित त्यहाँ सम्पूर्ण कर्मचारीसँग भेटघाट गरी जनताको सेवा प्रवाहमा खटिन निर्देशन दिए ।

मन्त्री केसीसहित अनुगमन तथा अध्ययनमा पूर्वराज्यमन्त्री गोमा कुँवर, प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे, तिला गाउँपालिका उपाध्यक्ष विष्णु बुढा, गोठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्मासहितको सहभागिता रहेको थियो। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *