तीजमा व्रत बस्न थाले सौका समुदायका महिला

डिसी नेपाल
१६ भदौ २०७६ १८:५२

दार्चुला। विगतमा हरितालिका तीजमा व्रत नबस्ने दार्चुलाका व्यासी सौका समुदायका महिलाहरु पछिल्लो समय व्रत बस्न थालेका छन् । दार्चुलाको चार गाउँमा बसोबास रहेको व्यासी सौका समुदायका महिलाहरु अन्य समुदायका महिलाहरुको देखासिकीका कारण पछिल्लो समय हरितालिका तीजमा व्रत बस्न थालेका हुन् ।

हिन्दू नारीहरुको महान पर्वको रूपमा रहेको हरितालिका तीजमा व्यासी महिलाहरुले यसअघि व्रत बस्ने गरेका थिएनन् । दार्चुलाको व्यास गाउँपालिकाको वडा नम्बर १ को छांगरु र तिंकर, वडा नम्बर २ को राप्ला तथा अपि हिमाल गाउँपालिका वडा नम्बर ६ सितोलामा मात्र बसोबास रहेका व्यासी सौका समुदायहरु अन्य समुदायले तीजमा व्रत लिएको देखेरै अहिले आएर आफूसमेत व्रत लिन थालेको उनीहरु बताउछन् ।

“विगतमा तीजमा कहिल्यै व्रत बसेका थिएनौँ”, व्यासी सौका समाजका कार्यक्रम संयोजक सुक्लावती बुढाथोकीले भनिन्, “तर अहिले आएर बजार क्षेत्रमा बसोबास गर्ने महिलाहरु व्रत लिन थालेका छौँ ।” व्यासी सौका समुदायका महिला तथा युवतीहरु पनि अहिले बजारको चलनअनुसार तीजमा व्रत बस्ने, नृत्य रमाइलो गर्न थालेका छन् ।

सदरमुकाम खलङ्गामा बसोबास भएपछि यहीको चलन सबैले सिक्न थाले । सोही कारण व्यासी महिलाहरु परिवर्तन हुन थालेका छन् । “पहिल्यै व्रत लिएका थिएनौँ, लिन पनि हुँदैन भन्थे”, उनले भनिन्, “हाल आएर सबै धर्मतिर महिलाहरु देखासिकीमा लागेर व्रत लिने गरेका छौँ ।”

सामाजिक मान्यताअनुसार पछिल्लो पुस्ताले तीजमा व्रत लिएर रमाइलो गर्न थालेको उनको भनाइ छ । “एउटै क्षेत्रमा बसोबास भएपछि एकले गर्ने परम्परा अर्कोलाई पनि मनाउन मन लाग्ने रहेछ”, उनले भनिन्। सामाजिक रूपान्तरणमा समेत सामाजिक संस्कार र परम्पराले काम गरेको छ ।

व्यासी अगुवा महिला यशोदा तिंकरीका अनुसार अहिले पनि पाको पुस्ताले हरितालिका तीजमा व्रत लिँदैनन्, तर युवा पुस्ता अरुले जस्तै व्रत लिन थालेका छन् । दुई चार वर्षयता केही केही महिला तथा युवतीहरु हरितालिका तीजमा सारी लगाउने, व्रत बस्ने जस्ता कार्यमा लागेका छन् । “अहिले पनि हामीहरुले तीजमा व्रत लिएका छैनौँ, तर हामीभन्दा पछिल्लो पुस्ता तीजमा रमाउन थालेका छन्”, तिंकरीले भनिन्।

उनका अनुसार व्यासीहरु अधिकांश बौद्ध धर्म मान्ने भएका कारण हिन्दू धर्मअनुसार तीजको व्रत लिएका थिएनन् । “दोहोरो बस्ती भएका कारण अहिले धर्म पनि साझा जस्तै भएको छ”, उनले भनिन्, “छ महीना व्यास र छ महीना खलङ्गामा व्यासीहरुको बसोबास हुन्छ, जसका कारण सामाजिक संस्कारअनुसार युवापुस्तामा परिवर्तन आएको छ ।”

व्यासी सौका समाजका अध्यक्षसमेत रहेकी तिंकरीका अनुसार समाजमा बसेपछि परिवर्तन पनि आवश्यक नै हो तर तीज, व्रत जस्ता चाडपर्वको नाममा भड्किलो चाहि बनाउनुहुँदैन । “संस्कार मान्नुपर्छ तर संस्कार मान्ने नाममा पुरानो रीतिरिवाज छोड्न हुँदैन”, उनले भनिन्।

सञ्चारको क्षेत्रमा क्रियाशील व्यासी युवती मञ्जु कल्याल तिंकरीका अनुसार अहिले पनि सबै महिला र युवतीहरु तीजमा व्रत बस्दैनन् । हिन्दू परम्परा अनुसारको तीजमा भोकै बस्ने, पानीसमेत नखाने जस्ता कार्यक्रमहरु भएका छैनन् । थोरै थोरै देखासिकी भए पनि पूरै हिन्दूसंस्कार व्यासीहरुमा नपुगेको उनको भनाइ छ ।

युवा पुस्ता पनि अरु समुदायले जसरी तीजमा व्रत लिने कार्यमा भने अझै उति रुचि देखाउँदैनन् । “थोरैले तीजको व्रत राखेका छौ”, उनले भनिन्, “तर अधिकांश पछिल्लो पुस्ता पनि यो व्रतमा चासो दिँदैनन् ।”

नेपालको दार्चुलामा मात्र बसोबास रहेका व्यासी सौका समुदायको वेशभूषा र भाषाशैली नै फरक छ । उनीहरु अहिले पनि एक आपसमा आफ्नै भाषा ९रङ० बोल्ने गर्छन् । व्यासीहरुको झण्डै दुई हजार जनसङ्ख्या रहेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.

No trending news available right now.