विदेशको दुःख सम्झेर स्वदेशमा आफ्नै व्यवसाय

डिसी नेपाल
१९ भदौ २०७६ ८:४३

सुरुङ्गा। वैदेशिक रोजगारीमा गएका अधिकांश व्यक्तिले स्वदेश फर्किए पछि पशुपालन व्यवसाय गर्ने गरेको पाइएको छ। जिल्लाका अधिकांश ठाउँमा खोलिएका पशु फार्म सञ्चालकमध्ये धेरैजसोले वैदेशिक रोजगारीबाट फर्किए विदेशको दुःख सम्झेर आफ्नै व्यवसाय थालेको बताएका छन्।

अर्जुनधारा नगरपालिका–१० सेतीपानीका दिव्यराज खतिवडा १० वर्षसम्म वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) र मलेशिया बसे। विदेशमा बस्दा पनि भनेजस्तो कमाई नभएपछि अहिले उहाँले घरमै कुखुरा फार्म सञ्चालन गरेका छन्। योसँगै उनले उन्नतजातका बाख्रा पनि पाल्न थालेका छन्।

रु २० लाख लगानी गरी गत वर्षदेखि उनले कुखुरा र बाख्रापालन गर्दै आएका हुन्। उनको फार्ममा अहिले ९७० कुखुरा छन्। लेयरजातका कुखुरा पाल्नुभएका खतिवडाले अहिले सोही व्यवसायबाट मनग्य आम्दानी गरिरहनुभएको छ। कुखुरासँगै उहाँले २० उन्नतजात (जमुनापारी, बोयर)का बाख्रा पालेका छन्।

कुखुरापालन र बाख्रापालन व्यवसायबाटै खतिवडाले गाउँमा मनग्य आम्दानी गरेपछि अहिले सेतीपानीमा अधिकांशले उन्नतजातका बाख्रा र कुखुरा पाल्न शुरु गरेका छन्। श्रीमती भावनाको नाममा फार्म सञ्चालन गरी उनले व्यवसाय थालेका हुन्। विदेशको भन्दा राम्रो आम्दानी हुन थालेपछि खतिवडा परिवार अहिले फुरुङ्ग छ।

“खतिवडा परिवारकै प्रगति देखेर मैले नि व्यवसाय शुरु गरेको छु”, छिमेकी खगेन्द्रप्रसाद खरेलले भने। उनले २२ माउ उन्नतजातका बाख्रा पाल्नु भएको छ। “पहिला बाख्रा पाल्न नजानेर रहेछ, गाउँघरका लोकल बाख्रा पालिन्थ्यो, जति हेरचाह गरे पनि खासै फाइदा हुँदैन थियो। अहिले उन्नतजातका थोरै बाख्रा पाले पनि मनग्य आम्दानी भएको छ”, उनले भने।

यस्तै बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले विदेशबाट फर्किएर अहिले पशुपालन गरिरहनु भएको छ। उनले उन्नतजातका १०० गाई र १०० स्थानीय जातका बाख्रा पालेका छन। उनको पशु फार्म प्रदेश नं १ कै ठूलो मानिन्छ। उनी मात्र होइन, झापा गाउँपालिकाको शरणामतिका सूर्य भण्डारीले पनि अहिले कुखुरापालन व्यवसाय सञ्चालन गरेका छन्।

“दैनिक एक हजार अण्डा उत्पादन हुन्छ”, भण्डारीले भने। उनी पनि वैदेशिक रोगजारीको सिलसिलामा पाँच वर्षअघि साउदी अरब पुग्नुुभएको थियो । “भेँडा चराउन लगाएपछि म एक महीनामै घर फर्के”, उनले भने। स्वेश फर्किए लगत्तै कुखुरापालन व्यवसाय सञ्चालन गर्नुभएका भण्डारीले अहिले मासिक रु एक लाख घरमै बसेर आम्दानी गरिरहेका छन्।

कृषि र पशुपालनलाई व्यवस्थित गरी पशुधनको उत्पादन बढाउने सरकारको लक्ष्य छ। सरकारले पशुपालक कृषकलाई अनुदान दिन थालेपछि अधिकांश युवा अहिले पशुपालनतर्फ आकर्षित भएका छन् ।

विदेशबाट फर्किएका युवाले पशुपालन व्यवसाय सञ्चालन गर्दै आएका छन्। विदेशबाट फर्किएर पशुपालन व्यवसाय सञ्चालन गर्ने उहाँहरु प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । उहाँहरु जस्ता धेरैले अहिले विदेशबाट फर्किएर पशुपालन व्यवसायमा हात हाल्नु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *