नेपाली मन्दिरमा तीज कार्यक्रम भव्यताका साथ सम्पन्न

डिसी नेपाल
१९ भदौ २०७६ २१:५९

वासिङ्गटन् डिसी । नेपाली नारीहरुको विशेष पर्वको रुपमा मनाइने हरितालिका (तीज) कार्यक्रम अमेरिकाको राजधानी शहर क्षेत्र अन्तर्गत मेरिल्याण्डको वेल्सभिलमा अवस्थित नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) को पशुपति–बुद्ध मन्दिरमा यही सेप्टेम्बर २ तारिख सोमबारका दिन भव्यरुपमा मनाइएको छ ।

एनइसीसीले तीज कार्यक्रम पश्चात जारी गरेको प्रेस विज्ञप्तिअनुसार करिब १५०० व्यक्तिहरुको सहभागिता रहेको उक्त तीज कार्यक्रममा करिब ५०० जनामहिलाहरु ब्रतपूजामा सहभागि भएका थिए ।

एनइसीसीले हरेक वर्ष पशुपति–बुद्ध मन्दिरमा तीज कार्यक्रमलगायत नेपाली धर्म संस्कृतिसंग सम्वन्धित चाडपर्व तथा अवसरहरुमा कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । यसै सिलसिलामा यस वर्षको कार्यक्रमलाई व्यवस्थित गर्न अघिल्लो दिन देखि नै विशेष तयारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

तीजको दिन विहानदेखि नै स्वयंसेवक तथा पूजा गर्नका लागि महिलाहरुको उपस्थिति शुरु भएको देखिन्थ्यो । मन्दिरको हलमा पूजा कार्यक्रम सञ्चालन भएको थियो भने मन्दिर अगाडिको खुल्ला चौरमा तीज गीतमा नाचगानको व्यवस्था गरिएको थियो । विहान १० बजेदेखि पूजा कार्यक्रम तथा ११ बजेदेखि नाचगानको कार्यक्रम सञ्चालन भएको थियो ।

पशुपति–बुद्ध मन्दिरको परिसर उक्त दिन नेपालको पशुपति क्षेत्रमा तीजको दिनमा देखिने दृश्यको झझल्को दिने खालको थियोे । रातो पहिरनमा उपस्थित महिलाहरु कोही पूजाहलको ढोकामा पूजाका लागि नाम दर्ता गराउन लाम लागेका देखिन्थे भने हल भित्र मन्दिरका पण्डित खिलराज पण्डित लामबद्ध भएर हल भरि बसेका महिलाहरुलाई पूर्ण विधिअनुसार पूजा गराइरहेका देखिन्थे । बाहिर मन्दिर अगाडिको चौरमा नेपाली तीज गीत घन्किरहेको थियो, महिलाहरु नाचिरहेका थिए । मन्दिर परिसरमा स्थापित अग्लो बुद्धको मुर्ति अगाडि फोटो खिच्नेको भिड त्यस्तै देखिन्थ्यो । हरियो चौर भरि रातो पहिरनमा यत्रतत्र छरिएको दृश्यले नेपालकै तीजको दिनको अनुभूति गराइरहेको थियो ।

मन्दिरमा आउनेहरुको अत्यधिक चापका कारणले पार्किङ्ग र पूजा व्यवस्थापन गर्न कठिन पर्ने अवस्था देखिन्थ्यो तर पनि स्वयंसेवकहरुले राम्रोसंग गर्न सकेको व्यवस्थापनका कारणले सबैले सहज महशुस गरेको देखिन्थ्यो ।

‘यस पटक हामीले पहिला आउनेले पहिला पूजा गर्न पाउन भन्नका लागि टोकनको व्यवस्था गरेका छौँ । एक पटकमा ८० देखि १०० जनासम्म पूजामा सहभागी गराउन सक्छौँ । नाम दर्ता गराएपछि टोकन देखाएर मन्दिरले उपलब्ध गराएको पूजा सामग्री लिएर आफ्नो पालो पर्खनुपर्छ । हामी करिब १५ जना त नाम दर्ता र पूजा सामग्री वितरणमा नै खटेका छौं’, तीज कार्यक्रमका संयोजक तथा एनइसीसीका उपाध्यक्ष सरोज प्रजापतिले बताइन् ।


नेपालीहरुको आफ्नै मन्दिर त्यो पनिपशुपति मन्दिर अनि तीजको दिनमा नेपाली तरिकाले पूजा गर्न पाइने, नेपाली गीतमा नेपाली दिदीबहिनीहरुसंग नेपालकै वातावरणमा तीज मनाउन पाएकोमा ब्रतालु महिलाहरु खुशी देखिन्थे ।

भर्खर पूजा सकेर बाहिर निस्केकी एक महिला भन्दै थिइन्, ‘झण्डै डेढ घण्टा त पूजा नै लाग्यो । पण्डितले पूरा विधि पु¥याएर पूजालगाउनु भयो । मलाई त साह्रै चित्तबुझ्यो । नेपालमा पनि यसरी पूजा लाउन पाइएको थिइएन । अब ऊ त्यहाँ गएर नाच्ने हो ।’

त्यसैगरि भर्जिनिया हरण्ड्न निवासी शुभद्रा बराल पराजुली भन्दै थिइन्, ‘हामीलाई विगतका वर्षहरु देखि नै अन्य मन्दिरहरुमा हेयको दृष्टिले व्यवहार गरिएको पाएका छौँ । आफ्नै मन्दिर हुंदाहुंदै किन अन्त जाने ? यहीँ आउने हो, नेपालीपनमा तीज मनाउने हो । आज यहाँ यति ठूलो भिड देखेको छु जसलाई व्यवस्थापन गर्नु चानचुने कुरा पक्कै हैन । यति ठूलो जमातलाई व्यवस्थित तरिकाले पूजाआजा गर्न अथक प्रयासमा लाग्नु हुने सम्पूर्ण स्वयंसेवक र मन्दिर सञ्चालक टिमलाई धन्यवाद र बधाई छ ।’

हरण्डन, भर्जिनियाका समाजसेवी गोविन्द सुवेदी भन्दै थिए, ‘हाम्रा दिदीबहिनीहरु अरु मन्दिरमा तीज मनाउन जाँदा अपमानित भएको हामीले देखेका छौँ । पार्किङ् लटमा गाडिमा सिडी राखेर गीत बजाएर नाच्नु पर्ने । तर यहाँ हेर्नुस त यति ठूलो चौर छ, नेपाली पारामा सबै कुरा हुन्छ । त्यसैले हामीले हरण्डन एरियाका सबैलाई यहीँ मन्दिरमा जाने हो भनेर सबैले मिलेर राइडको व्यवस्था समेत गरेर आएका छौँ । डिसी क्षेत्रको हामी सबैको साझा मन्दिर भनेकै यहीहो । यो पटकको दिदीबहिनीहरुको उपस्थितिले पनि यहि प्रमाणित गरेको छ ।’

कार्यक्रम व्यवस्थापनलगायतका विषयमा मन्दिरका अध्यक्ष खिलेन्द्र न्यौपाने भन्छन्, ‘हामीले तीज कार्यक्रम वर्षेनी आयोजना गर्दै आइरहेका छौँ । गत केही वर्षदेखि तीजमा सहभागिता बढ्दो छ । त्यसैले हामीले हिजोदेखि नै यसको व्यवस्थापनमा खटेका छौँ । आज झण्डै १०० जनाभन्दा बढी त स्वयंसेवकहरु खटिइरहनु भएको छ । यस पटक हामीले पूजालाई अझ बढि व्यवस्थित गर्न सकेका छौँ जस्तो लाग्छ । नेपालीहरुले अमेरिकामा स्थापना गरेको यो पहिलो मन्दिर भएकोले पनि यो अमेरिकाभरिकै सबै नेपालीहरुको साझा मन्दिर हो । हामीले भन्दै आइरहेका छौँ कि यसलाई एउटा विशेष धामकोरुपमा विकास गरौँ र नेपाली चाडपर्वहरु मध्ये विशेष पर्वहरु यहीँ मनाउँ । हरेक वर्ष तीन÷चार घण्टासम्म ड्राइभ गरेर महिला दिदीबहिनीहरु आउनुहुन्छ । यसपटक पनि त्यस्तै उपस्थिति छ । आगामी तीज सम्ममा आठ फीटको भगवान शिवको प्रतिमा स्थापना गर्ने र पशुपति मन्दिर प्यागोडा शैलिमा निर्माण गर्ने योजना राखेका छौँ । यस पटकको यो तीज कार्यक्रमलाई राम्रो व्यवस्थापन गर्न सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।’

मन्दिरले आफ्नो श्रोत र साधनले भ्याएसम्म कार्यक्रमलाई व्यवस्थित गर्ने कोशिस गरेको देखिन्थ्यो । तर आउँदा दिनमा चर्को घामबाट जोगिन थप पालहरुको व्यवस्था गर्ने र महिलाहरुसंगै आएका बालबालिकाहरु लगायतलाई सामान्य प्रसादको व्यवस्था गर्न सकेमा अझ राम्रो हुने कुरा सहभागीहरुले बताउँदै थिए ।

मन्दिरको तर्फबाट जारी विज्ञप्तिमा सहभागीहरुको सुझावलाई ध्यानदिएर आउँदा वर्षहरुमा थप व्यवस्थितरुपमा कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।


सोही विज्ञप्ति अनुसार पूजामा सहभागीहरुसंग न्यूनतम रुपमा शुल्क लिएर पूजाको सम्पूर्ण सामाग्री उपलब्ध गराइएको थियो र सोही रकमबाट पिउने पानी तथा डिजेको व्यवस्था समेत गरिएको थियो । पूजा शुल्क तथा दानबाट सो दिन करिब १० हजार अमेरिकी डलर रकम उठेको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा तीज कार्यक्रम ऐतिहासिकरुपमा सफल बनाउन सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत ज्ञापन गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *