महानगरीय अपराध महाशाखाको आधुनिक भवन बन्ने

डिसी नेपाल
२४ भदौ २०७६ १२:५३

काठमाडौं। नेपाल प्रहरीले महानगरीय अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाण्डौ र बहुउद्देश्यीय भवनको एक साथ सिलन्यास गरेको छ।

मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालले टेकूमा महानगरीय अपराध महाशाखा, भद्रकालीमा महानगरीय प्रहरी परिसर काठमाडौं र नेपाल पुलिस क्लबमा बहुउद्देश्यीय भवन निमार्णको शिलन्यास गरेका हुन्।

२०७२ सालको महाभूकम्पले हनुमानढोकास्थित महानगरीय प्रहरी परिसरको भवन भत्काएपछि प्रहरीले कहिले त्रिपाल मुनि त कहिले टेकूमा रहेर सेवा प्रदान गर्दै आएको थियो।

अब भने आधुनिक र सुविधा सम्पन्न भवन बनाउन लागिएको हो। तीनवटै स्थानमा भवन निर्माणको शिलन्यास पछि नेपाल पुलिस क्लवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रहरी महानिरीक्षक खनालले राष्ट्रले सुम्पेको जिम्मेवारी पालना गर्न मातहतलाई निर्देशन दिए।

जिम्मेवारी निर्वाह गर्ने क्रममा कहिलेकाहीँ मिलिभगत देखिने गरेको उल्लेख गर्दै उनले सरकारको सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्दै पारदर्शीता र सुशासन कायम गर्ने सवालमा अहोरात्र खटिन निर्देशन दिए।

प्रहरीको कामकारवाही पारदर्शी बन्न नसक्दा प्रहरीमाथि नै जनताको भरोसा र विश्वास टुट्ने भएकाले आफ्नो जिम्मेवारीमा सधै सचेत र सजग हुनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक लोकेशचन्द्र सिंहले तीनवटै भवन अत्याधुनिक सुविधासम्पन्न बनाइनुको साथै दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष राखिएको बताए।

टेकूमा ९ रोपनी क्षेत्रफलमा बनाउन बनाउन लागिएको महानगरीय अपराध महाशाखाको भवन ७५ हजार स्क्वायरफिटको हुने छ भने भद्रकालिमा निर्माण गर्न लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंको भवन १२ रोपनी क्षेत्रफलमा १ लाख ७२ हजार स्क्वायर फिटको हुने प्रहरी नायव महानिरीक्षक सिंहले जानकारी दिए।

नेपाल पुलिसको बहुउद्देश्यीय भवन ७ सय ५० जनाको क्षमताको हल सहित विभिन्न कन्फरेन्स हलहरु समेत रहने छन्। सबै भवनहरु भूकम्पप्रतिरोधी हुनुको साथै वातावरण मैत्री हुनेछन् भने विषयगत निकायहरुका भिन्ना भिन्नै चेम्बर पनि बनाइने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *