इन्द्रजात्रामा विदेशी पाँच मेयरसहित ४८ जना विदेशी पाहुना सहभागी हुने

डिसी नेपाल
२५ भदौ २०७६ १३:१२

काठमाडौं। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा इन्द्रजात्रामा यस वर्ष विश्वका विभिन्न सहरका ५ जना मेयरसहित ४८ जना विदेशी पाहुना पनि सहभागी हुने भएका छन्।

काठमाडौं महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरी यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुनालाई पनि सहभागी गराउन लागिएको जानकारी गराएको हो। इन्द्रजात्रालाई पनि नेपालको पर्यटन उद्योगको विकाससँग प्रत्यक्षरुपमा जोडेर अघि बढाउन यस वर्ष पहिलो पटक विश्वका विभिन्न मुलुकका ५ मेयरसहित ४८ जना पाहुनालाई पनि सहभागि गराउने योजना तय गरिएको मेयर विद्यासुन्दर शाक्यले बताए।

नेपालको धर्म, संस्कृति र परम्पराको प्रचार गरेर ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सघाउ पर्¥याउन पनि उनीहरुलाई इन्द्रजात्रामा पनि सहभागी हुन निमन्त्रणा गरिएको उनले बताए। बिहीबारबाट उनीहरु नेपालमा आउन सुरु गर्नेछन्। आगामी २७ गते शुक्रबार ती विदेशी पाहुनाहरु इन्द्रजात्राको विशेष कार्यक्रममा सहभागी हुनेछन्।

मंगलबार (हिजो) बाट विधिवत रुपमा सुरु भएको इन्द्रजात्राको विशेष दिन शुक्रबार राष्ट्रप्रमुखको रुपमा राष्ट्रपति विद्याभण्डारीले बसन्तपुर कुमारीको रथयात्रामा सहभागी भई टीकाप्रसाद ग्रहण गर्ने कार्यक्रम छ।

सोही दिन विदेशी पाहुनाहरुलाई पनि कुमारीको रथमा सहभागी गराई काठमाडौं उपत्यकाको सम्पदाहरुको पनि अवलोकन गराउने काठमाडौं महानगरपालिकाको योजना छ। त्यसका लागि इन्द्रजात्रा व्यवस्थापन समिति र स्थानीय क्लवहरुसँग पनि सहकार्य गरिएको छ।

काठमाडौं महानगरपालिकाकाले इन्द्रजात्रा व्यवस्थापन समितिका लागि १० लाख खर्चको व्यवस्था गरिसकेको छ। मेयर शाक्यले इन्द्रजात्रामा सहभागी हुन आउने ४८ जना विदेशी पाहुनाहरुको खर्चको व्यवस्था पनि महानगरपालिका आफैंले गर्न लागेको जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *