सरकारले साढे ३ वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने मन्त्री महासेठको दाबी

डिसी नेपाल
२६ भदौ २०७६ १८:१०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साढे तीन वर्षभित्र १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्ने दावी गरेका छन्।

नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलनमा मन्त्री महासेठले सरकारले साढे तीन वर्षभित्र ६ लेन, ४ लेन र २ लेन गरि १५ हजार किलोमिटर राजमार्ग निर्माण गर्न लागेको बताएका हुन्।

मन्त्री महासेठले स्थानीय तहदेखि केन्द्रीय तहका सडक आयोजना निर्माण, मर्मतसम्भारलगायतका सडक पूर्वाधारमा सबै तहका सरकारहरुले समन्वयात्मक ढंगले काम गरिरहेको बताएका हुन्।

सरकारले पाँच वर्षभित्र यस्ता राजमार्ग निर्माण गर्ने लक्ष्य लिए पनि साढे तीन वर्षभित्रै सम्पन्न हुने उनको दावी छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले आर्थिक बर्ष २०७३÷७४ को मसान्त्तपछि ठेक्का सम्झौता भएका सबै आयोजनाहरु तोकिएकै समयमा सम्पन्न हुने दावी समेत गरेका छन्।

उनले २५ वर्ष पहिले ठेक्का सम्झौता भएका आयोजनाहरु अहिलेसम्म पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्दै अबदेखि त्यस्ता आयोजनाहरु तोकिएकै समयमा सम्पन्न नभए कारवाही गरिने समेत बताए। मन्त्री महासेठले सरकारले विदेशी लगानी आकर्षण गर्न आवश्यक सबै कानून निर्माण गरि सकेको पनि बताएका हुन्।

कार्यक्रममा मन्त्री महासेठले सरकारको महा अभियानमा सबैले साथ दिन आग्रह पनि गरे। नेपाल उद्योग परिसंघ (सिएनआई) को आयोजनामा काठमाडौंमा भएको तेस्रो नेपाल पूर्वाधार सम्मेलन आज सकिदै छ।

सम्मेलनको पहिलो दिन ७ प्रदेशका मुख्यमन्त्रीहरुले प्रदेश भित्रका विकास पूर्वाधार सम्बन्धी विभिन्न आयोजना बारे लगानीकर्ता, व्यवसायीहरुलाई जानकारी गराएका थिए।

नेपाल सरकारले लगानी सम्मेलनमा सोकेस गरेका धेरै आयोजना बारे यस सम्मेलनमा पनि छलफल भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *