‘प्रदेशको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयकहरुको खारेजीका लागि अदालत जान्छौं’

डिसी नेपाल
२६ भदौ २०७६ १८:२१

काठमाडौं । २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारको अधिकार कुण्ठित गर्नेगरि केन्द्र सरकारले ल्याएका विद्येयक तथा ऐनहरुको एकमुष्ट खारेजीको लागि आफूहरु सर्वोच्च अदालत जाने चेतावनी दिएका छन्।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मुख्यमन्त्री राउतले यस्तो बताएका हुन्। राउतले संघीय सरकारले आफूलाई माथि पारेर विभिन्न ऐन, कानून तथा विद्येयकहरु ल्याएकोमा तिव्र असन्तुष्टि पोखे। उनले भने,‘संविधानले दिएको प्रदेशको अधिकारपनि कटौती गर्नेगरि केन्द्र सरकारले कदम चालिरहेको छ।

सागरनाथ वनको सवालमा पनि अहिले प्राधिकरण गठन गरेर वनलाई आफ्नो मातहातमा राख्न खोजिरहेको छ। यो हामीलाई मान्य छैन्। हामीले यो प्रकरणमा केन्द्र सरकारलाई जवाफ दिनको लागि पनि भर्खरै सागरनाथमै हाम्रो प्रदेशको मन्त्रिपरिषदको बैठक राख्यौं।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले केन्द्र सरकारले ल्याएका संविधानविरोधी विद्येयक तथा ऐन र कानूनहरु आफूहरुलाई मान्य नहुने भन्दै केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्ने सुझाव दिए।

उनले भने, ‘अहिलेपनि केन्द्रका शासकहरुमा हिजोकोजस्तै मानसिकता छ। केन्द्र सरकारबाट भएका त्रुटीहरु सच्याउनुपर्छ। हामी प्रदेशको अधिकार खोस्ने विद्येयकहरुलाई एकमुष्ट रुपमा खारेजी गर्नको लागि तयार गर्छौं।’

उनले संविधानले राष्ट्रिय वनको सवालमा यो अधिकार प्रदेश सरकारलाई दिएकोमा केन्द्र सरकारले गलत तवरले आफ्नो मातहातमा राख्ने प्रयास गरिरहेको आरोप लगाए। उनले भने,‘संघले जंगल मास्न खोजिरहेको छ । हामी कुनैपनि हालतमा मास्न दिँदैनौं । जंगल मासियो भने मधेश समाप्त हुन्छ । त्यसैले हामी मधेश बचाउन तयार छौं । मधेश बाँच्यो भनेमात्रै देश बच्छ । चुरेको दोहन हुन दिँदैनौं ।’

मुख्यमन्त्री राउतले अहिलेपनि केन्द्र सरकारले प्रदेश सरकारलाई जसरी सहयोग गर्नुपर्नेथियो त्यो अनुसारको सहयोग नगरेको गुनासो पोखे । उनले भने,‘हामीले संघबाट राम्रो सहयोग पाएनौं।’ अहिले प्राप्त भएका गणतन्त्र, संघीयता, समानूपातिक–समावेशितालगायतका कुराहरु ठूला उपलब्धि भएको बताउँदै उनले यसको रक्षाको लागि सबै एकजुट भएर लाग्नुपर्ने पनि धारणा राखे ।

उनले मुलुकको विकास र समृद्धिको लागि आफूहरु अहोरात्र खटिरहेको स्पष्ट पारेका छन् । यसको लागि काम गर्ने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने, ‘अहिलेपनि प्रदेशस्तरमा काम गर्न गाह«ो छ ।’ आफूहरुले सिमित साधन र स्रोतका बावजुदपनि विकास र समृद्धिको लागि युद्धस्तरमा काम गरिरहेको उनको भनाई छ ।

मुख्यमन्त्री राउतले जनताका आकांक्षाअनुसार आफूहरुले काम गरिरहेको पनि स्पष्ट पारे । उनले भने, ‘म त मेरो कामबाट सन्तुष्ट छु ।’ राउतले संघीयतालाई कार्यान्वयनगर्नको लागि संघीय सरकारले प्रदेश र स्थानीय सरकारलाई संविधानअनुसार अधिकार दिनुपर्नेमा जोड दिए । उनले आफूहरु कतिपय अवस्थामा काम गर्ने ईच्छुक हुँदाहुँदैपनि गर्न नसकेको गुनासो पोखे ।

उनले अपेक्षित काम हुन नसकेको भने स्विकार गरे । उनले भने, ‘हामीले छोटो अवधिमा विकास निर्माणका लागि राम्रै प्रयास गरिरहेका छौं । वर्षौसम्म केन्द्र सरकारको उपस्थित् नभएको ठाउँमा हामी पुगेका छौं । जहाँ केन्द्र सरकारको ध्यान पुगेको छैन, त्यहाँ हामी पुगेका छौं ।’

उनले आफूहरुको प्रयासलाई अहिल्यै नै मूल्यांकन गर्न नमिल्ने सुझाए । उनले आफूहरुले लोकसेवा आयोग गठन गरिसकेकोले अब छिट्टै प्रदेशमा कर्मचारी भर्ना गर्ने सुनाए । उनले थपे, ‘अब हामी कर्मचारी भर्ना प्रक्रिया अघि बढाउँछौं । यसले हामीलाई काम गर्न सहजता हुन्छ ।’ त्यस्तै, उनले प्रदेश निजामती सेवा आयोग अबको एक÷दुई हप्ताभित्र गठन गर्ने जनाए । आगामी पाँच वर्षभित्र प्रतिफल आउनेगरि काम हुने उनको विश्वास छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *