अपराह्नकालमै गर्नुपर्ने सोह्र श्राद्ध प्रारम्भ

डिसी नेपाल
२८ भदौ २०७६ ६:२०

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।

सक्नेले यस पक्षका सोह्रै तिथिमा श्राद्ध गर्नुपर्छ । नसक्नेले पञ्चमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताका तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । “कुनै कारणवश पिताको तिथिमा श्राद्ध रोकिएमा अष्टमी, द्वादशी वा औँशीमा श्राद्ध गर्नुपर्छ, औँशीमा पनि रोकिए आश्विन शुक्ल पञ्चमीसम्म गर्नुहुन्छ, त्यसबीचमा पनि गर्न नपाए कार्तिक कृष्ण औशीमा गर्नुपर्छ, यस दिन पनि गर्न नमिल्ने भयो भने सूर्य वृश्चिक राशि (मङ्सिर १ गते) मा जानुअघि जुराएर गर्नुपर्ने शास्त्रीय वचन छ, तिथिका दिन रोकिएपछि गरिने श्राद्ध नन्दा तिथि अर्थात् प्रतिपदा, षष्ठी र एकादशीमा पारिनुहुन्न”, उनले भने ।

सूर्य वृश्चिक राशिमा जानुअघिसम्म दिवङ्गत पितृ पितृलोकबाट मत्र्यलोकमा झरेर पिण्डदानको आशाले सन्तानको घर वरपर घुमेर बस्छन् भन्ने शास्त्रीय वचन छ । यस समयमा श्राद्ध नगरे पितृले सराप्दै फेरि पितृलोकमा फर्कन्छन् । यो समयमा श्राद्ध नगरे दोष (प्रत्यवाय) लाग्छ । आश्विन कृष्ण पक्षलाई महालय, अपर, पितृ र प्रेत पक्ष पनि भनिन्छ ।

पार्वण श्राद्धको समय

सोह्र श्राद्ध पर्वमा गरिने भएकाले यस श्राद्धलाई पार्वण भनिन्छ । पार्वण श्राद्ध गर्ने समय पनि शास्त्रले निर्दिष्ट गरेको छ । सूर्योदयदेखि सूर्यास्तसम्मको समयलाई दिनमान भनिन्छ । दिनमानलाई पाँच भाग लगाइन्छ । पहिलो भागलाई प्रातः, दोस्रोलाई सङ्गव, तेस्रोलाई मध्याह्न, चौथोलाई अपराह्न र पाँचौँ भागलाई सायं भनिन्छ । महालय श्राद्ध अपराह्नकालमा गरिनुपर्छ । चौथो भागमा पिण्डदान गर्ने गरी श्राद्ध गरिनुपर्ने समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताउनुभयो । पितृको मृत तिथिमा गरिने एकोद्दिष्ट श्राद्ध तेस्रो भाग अर्थात् मध्याह्नकालमा गरिनुपर्छ । अपराह्नकालमा शुरु गरेर सायंकालसम्म गए पनि फरक पर्दैन तर मध्याह्नकाल वा त्यसभन्दा अघि नै भने सोह्रश्राद्ध गर्नु हुँदैन । समयमा नगरे श्राद्धको फल प्राप्त हुँदैन ।

एक घरमा श्राद्धको टीका लगाएको ब्राह्मणले अर्को घरमा लगाउनुहुँदैन । अर्को टीका लगाएको ब्राह्मण देखे पितृले श्राप दिन्छन् । त्यो श्राद्धको फल प्राप्त हुँदैन । धेरै घरमा एकै ब्राह्मणले श्राद्ध गर्ने र बिहानैदेखि सोह्रश्राद्ध गर्नु शास्त्रविरुद्ध रहेको अध्यक्ष गौतमले बताए । तीर्थ श्राद्धबाहेकका अरुमा भने पायसकै पिण्ड दान गरिनुपर्छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परानुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली श्राद्ध जस्ता श्राद्ध प्रचलित छन् ।

यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती उत्तरगया, चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाट, त्रिवेणीलगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धाभावसाथ श्राद्ध गर्नेको भीड लाग्छ । आफ्नो घरभन्दा बाहिर बसेकाहरुले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडादशैँ शुरु हुन्छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *