तरुण दल विवाद उत्कर्षमा, महासचिब शाहीलाई अध्यक्ष बस्नेतले पदबाट हटाए

डिसी नेपाल
२८ भदौ २०७६ १७:४३

काठमाडौं। नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जितजंग बस्नेतले शनिबार महासचिब भुपेन्द्रजंग शाहीलाई कुनै पनि पदमा नरहने गरी निष्काशन गरेका छन्।

पदावधि सकिनै लागेको तरुण दलमा ४ जनामात्र पदाधिकारी थिए। तरुण दलको महाधिवेशनले सर्वसम्म रुपमा चार पदाधिकारी चयन गरेको थियो भने समितिलाई पूर्णता दिने भनिएको थियो। तर, समितिलाई त पूर्णता दिइएन, अध्यक्ष र महासचिबबीच भने विवाद बढ्यो।

यहीबीचमा शनिबार अध्यक्ष बस्नेतले महासचिब शाहीलाई पदबाट हटाउँदै कारबाही गरिएपछि तरुण दलको विवाद सतहमा आएको हो। यसअघि महासचिब शाहीले एकजना जिल्ला अध्यक्ष मनोनयन गरेका थिए। तर, अध्यक्ष बस्नेतले महासचिबको मनोनय खारेज गरेका थिए।

महासचिब शाहीले पार्टी सभापति शेरबहादुर देउवाले तरुण दललाई पंगु बनाएको भन्दै आवाज उठाउँदै आएका थिए। उनले पार्टीका भातृ संस्था विनाको पार्टीको जागरण अभियानको कुनै अर्थ नभएको सार्वजनिक टिप्पणी गरेका थिए। यही विषयलाई लिएर अध्यक्ष बस्नेतले महासचिब शाहीलाई कारबाही गरेका हुन्। शाही वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका हुन् भने अध्यक्ष बस्नेत सभापति देउवा समूहका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *