मिटर बिल भन्दाबढी पैसा नतिर्न भाडावालाहरुलाई कुलमानको आग्रह

डिसी नेपाल
२९ भदौ २०७६ १८:०५
4
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मिटर विलभन्दा बढी पैसा नतिर्न भाडावालाहरुलाई आग्रह गरेका छन्।

उनले भाडावालासँग चर्को दरमा विद्युत महशुल नउठाउन पनि घरबेटीहरुलाई सचेत गराएका छन्। उनले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन्।

कार्यकारी निर्देशक घिसिङले मिटर बिलमा उल्लेख गरिएको भन्दा बढी महशुल भाडावालसँग घरबेटीहरुले लिने गरेको पाइएको उल्लेख गर्दै त्यसो नगर्न सचेत गराएका हुन्।

नेपाल विद्युत प्राधिकरणको मिटर बिलमा उल्लेख गरिए भन्दा बढि भाडा लिन नपाउने कानूनी व्यवस्था रहेको पनि कार्यकारी निर्देशक घिसिङले स्पष्ट पारे।

प्राधिकरणले विद्युत महशुल आफ्नो वेबसाईटमा उल्लेख गरिएकाले त्यसमा हेरेर त्यसको महशुल थाहा पाउन पनि उपभोक्ताहरुलाई आह्वान गरेको छ।

प्राधिकरणले आगामी चैत्र महिना भित्र ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गर्ने लक्ष्य पनि बनाएको छ। त्यसैगरी १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना, १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन विद्युत आयोजना र निजी क्षेत्रका आयोजनाहरु समेत गरेर चालू आर्थिक वर्षभित्र एक हजार मेगावाट विद्युत थप गर्ने योजना पनि तय गरिएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए।

प्राधिकरणले चालू आर्थिक वर्षभित्रै रुकुम पूर्व, कालिकोट, जुम्ला र बाजुरा गरी ४ जिल्लामा पनि राष्ट्रिय ग्रीड पुर्याउने योजना तय गरेको छ । कार्यकारी निर्देशक घिसिङले चालू आर्थिक वर्ष भित्र देशभर स्मार्ट मिटर जडान कार्य सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *