बालुवाटार पुगेरै काँग्रेसद्वारा बहुमतका आधारमा नपेल्न प्रधानमन्त्री ओलीलाई चेतावनी

डिसी नेपाल
२९ भदौ २०७६ २२:१७

काठमाडौं। नागरिकता ऐन संशोधन सम्बन्धि विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा निश्कर्षमा पुग्नै लाग्दा दलहरुबीच विवाद देखिएको छ। खास गरी वैबाहिक अंगीकृत नागरिकता दिने विषयमा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी काँग्रेसबीच विवाद देखिएको छ। त्यसो त सत्तारुढ दल नेकपा भित्र पनि यो विषयमा एकमत छैन । यहीबीचमा शुक्रबार समितिमा मतदान प्रक्रियाबाट निर्णय लिने तयारी अन्तिम सयममा शीर्ष नेताहरुको हस्तक्षेपछि रोकियो।

शीर्ष नेताहरुबीच सहमित गर्ने भनिएपछि शुक्रबारको मतदान रोकियो। शनिबार शीर्ष तहमा कुनै छलफल हुन सकेन। काँग्रेस सभापति शनिबार बाँके पुगेकाले शनीबार नभएको छलफल आइतबार भने भयो।

काँग्रेस नेताहरु आइतबार छलफलका लागि बालुवाटार पुगे। बालुवाटार पुगेर बहुमतका आधारमा यो विषयमा निर्णय नलिन प्रधानमन्त्री केपी ओलीलाई काँग्रेसले स्पष्ट चेतावनी दिएको छ। बैठकमा सहभागी एक काँग्रेस नेताका अनुसार नागरिकता जस्तो संवेदनशील विषयमा बहुमतका आधारमा निर्णय गर्नुभन्दा पनि सबै पक्षको विश्वास लिनुपर्ने काँग्रेसले आफ्नो धारणा राखेको छ।

राज्य व्यवस्था समितिमा वैदेशिक ज्वाईलाई १५ वर्षपछि र वैदेशिक बुहारीलाई ७ वर्षपछि नागरिकता दिने र त्यसका लागि उनीहरुले आ आफ्नो देशको नागरिकता त्यागेको निस्सा दिनुपर्ने प्रस्ताव विचाराधीन छ। उता काँग्रेसले भने समितिमा लिखित असहमति दर्ता गराएको छ। काँग्रेसले मौजुदा व्यवस्था नै यथावत राख्न प्रस्ताव गरेको छ।

काँग्रेसको प्रस्तावमा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीमा छलफल गर्ने जवाफ दिएको बताइएको छ। उनले पार्टीमा छलफल गरेर फेरि दुई दलबीच छलफल गर्ने बताएका छन्।

नागरिकता विधेयकमा विदेशी ज्वाई र विदेशी बुहारीलाई नागरिकता दिने विषयमा महिला अधिकारवादीहरुले लिंगसँग जोडेर वकालत गरिरहेका छन् भने मधेशवादीहरुले मधेशसँग जोडेका छन्। त्यसैले पनि यो विषउ पेचिलो बन्दै गएको छ। राज्य व्यवस्था समितिमा अन्य देश खास गरेर भारतमा भएको जस्तो व्यवस्था अपनाउँदा पनि ठिक हुने आवाज उठेको थियो। तर, यसमा नेकपा भित्रै एकमत भएको छैन ।

आइतबार बालुवाटारमा काँग्रेस नेताहरुले बाँकेको खजुरा गाउँपालिका २ सितापुरमा भएको घटनाका दोषीमाथि कारबाही गर्न पनि प्रधानमन्त्री ओलीसँग माग गरेका छन्। जागरण अभियानका क्रममा बिहीबार सितापुरमा बाँके काँग्रेस सभापति किरण कोइरालालगायत काँग्रेस नेताहरुमाथि नेकपाबाट वडा अध्यक्षमा विजयी सुमन मल्ललगायत नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेका थिए। नेतृ कोइरालको हात भाँचिएको छ।

प्रधानमन्त्री ओलीले दोषीलाई कारबाही गरिने बताएको बैठकमा सहभागी काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *