हङ्‌कङमा प्रदर्शनकारीमाथि पेट्रोल बम र पानीको फोहरा प्रहार

डिसी नेपाल
३० भदौ २०७६ ७:०२

हङ्‌कङ । कैयौँ व्यक्ति गम्भीर रूपमा घाइते हुने गरी दिनभरि भएका प्रदर्शनपछि राति पनि हङ्‌कङमा प्रहरी र प्रदर्शनकारीबिच झडपहरू भएका छन्। दिउँसो लोकतन्त्र पक्षधर र बेइजिङ समर्थक प्रदर्शनकारीबीच नर्थपोइन्टमा हिंसात्मक झडप भएको थियो। मध्य हङ्‌कङमा प्रतिबन्धको उल्लङ्घन गर्दै र्‍यालीमा सहभागी भएका दशौँ हजारलाई तितरबितर पार्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेका थिए।

आन्दोलनकारीहरूले पेट्रोल बम प्रहार गरेका थिए, अवरोधहरू तेर्स्याएका थिए र एउटा रेल्वे स्टेशनमा क्षति पुर्‍याएका थिए। केही प्रदर्शनकारीले ब्रिटिश कन्सुलेटबाहिर प्रदर्शन गर्दै आफ्नो पूर्वउपनिवेशको रक्षा गर्न माग गरेका थिए।

तनावको कारण के ?

प्रहरी निषेधाज्ञाको उल्लङ्घन गर्दै हजारौँ लोकतन्त्र पक्षधर प्रदर्शनकारीले र्‍याली निकालेपछि तनाव उत्पन्न भएको थियो। सैयौँको सङ्ख्यामा प्रदर्शनकारीले ब्रिटेनको कन्सुलेटबाहिर प्रदर्शन गर्दै संयुक्त अधिराज्यले चीनलाई सन् १९९७ मा हङ्‌कङ हस्तान्तरणका बेलामा प्रतिबद्धता जनाइएका स्वतन्त्रता सुनिश्चित गर्न दबाव दिनुपर्ने माग गरेका थिए। हाल खरेज गरिएको सुपुर्दगीसम्बन्धी विधेयकले महिनौँसम्म प्रदर्शनहरू निम्त्याएको थियो।

सो कानुनले हङ्‌कङमा बस्दै आएका मानिसहरूलाई चिनियाँ मूलभूभागलाई सुपुर्दगी गर्न सम्भव तुल्याउने थियो। आलोचकहरूले त्यसबाट मानव अधिकार उल्लङ्घन हुने अवस्था निम्तिने बताउने गरेका छन्। यसै महिनाको शुरूमा उक्त विधेयक फिर्ता लिइएको थियो। तर आन्दोलनकारीहरूले पूर्ण लोकतन्त्रको बहाली हुनुपर्ने र प्रहरी दमनबारे अनुसन्धान गरिनुपर्ने माग गरिरहेका छन्।

झडपमा के भइरहेको छ ?

समाचारहरूमा जनाइए अनुसार केही प्रदर्शनकारीले चिनियाँ जनमुक्ति सेनाको शिविर बाहिर रहेका प्रहरीमाथि इँटा प्रहार गरेको जनाएका छन्। उक्त सैन्य इलाका हङ्‌कङको संसद्‌ भवन र सरकारी कार्यलयहरूनजिकै अवस्थित रहेको छ। उनीहरूले जनगणतन्त्र चीन स्थापना भएको ७० वर्ष पूरा भएको उल्लेख गरिएको एउटा ब्यानरमा पनि आगो लगाइदिएको रोयर्टस समाचार संस्थाले जनाएको छ।

पेट्रोल बम प्रहार गरिएपछि एउटा पानीको फोहरा फ्याक्ने ट्रकमा आगो लागेको रोयटर्सले जनाएको छ। आन्दोलन भएका विश्वका अरू ठाउँमा पनि विगतमा प्रयोग गरिएको र पछि प्रदर्शनकारीलाई पहिचान गर्न मिल्ने किसिमको पानी अर्को फोहरामार्फत्‌ प्रहार गरिएको थियो। दोस्रो हप्ता भइरहेको प्रदर्शनमा सहभागी केहीले तारासहित रेखा भएको अमेरिकी झण्डा बोकेका थिए र उनीहरूले हङ्‌कङलाई स्वतन्त्र बनाउन मद्दत गर्न राष्ट्रपति डोनल्ड ट्रम्पलाई आग्रह गरेका छन्।

किन ब्रिटेनको कन्सुलेटमा प्रदर्शन गरियो ?

हङ्‌कङ चीनको अङ्ग भए पनि “एक देश दुई प्रणाली”को व्यवस्थाले उसलाई बढी मात्रामा स्वायत्ता प्रदान गर्छ र अभिव्यक्ति अनि भेला हुन पाउने अधिकारलाई संरक्षित गर्छ। तर ब्रिटिश कन्सुलेटबाहिर भेला भएका प्रदर्शनकारीले “एक देश, दुई प्रणाली मृत भइसक्यो” भन्दै नारा लगाउँदै “स्वतन्त्र हङ्‌कङ” माग गरे।

“त्यो प्रणालीले हङ्‌कङमा आधारभूत मानवअधिकार रहने र त्यसलाई संरक्षण गरिने भनिएको थियो,” एक जना प्रदर्शनकारीले बीबीसीसँग भने। “हामीलाई लाग्छ संयुक्त अधिराज्यको सरकारले हङ्‌कङका नागरिकको रक्षा गर्ने कानूनी र नैतिक जिम्मेवारी वहन गर्नुपर्छ।” चीनले एक देश दुई प्रणालीप्रति आफू प्रतिबद्ध रहेको बताउने गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *