चीन स्थापनाको अवसरमा बेइजिङमा सम्मान समारोह

डिसी नेपाल
१२ असोज २०७६ २०:५३

बेइजिङ (रासस/एएफपी) । चिनियाँ राष्ट्रपति सी चिनफिङले विश्वमै उदाहरणीय कार्य गर्ने देशभित्रका र विदेशी लब्ध प्रतिष्ठित व्यक्तित्वहरूलाई आइतबार पदक एवं मानार्थ उपाधिले सम्मानित गरेका छन् । मानार्थ उपाधि प्राप्त गर्नेहरूमा एक जना पूर्व फ्रान्सेली प्रधानमन्त्री समेत छन् ।

चीनमा कम्युनिष्ट शासन शुरु भएको ७० वर्ष पुगेको अवसरमा पदक एवं उपाधि प्रदान गरिएको हो । चीनको राजधानी बेइजिङमा मङ्गलबार औपचारिक रूपमा व्यापक सैन्य परेड पनि आयोजना हुनेछ । पदक वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनफिङले चिनियाँ जनताको समृद्धिका लागि पार्टीले गरेको अनवरत कार्यमा विभिन्न विशिष्ट व्यक्तिले अतुलनीय योगदान गरेको बताए ।

पुरस्कृत हुनेमा क्यानाडाकी इसाबेल क्रूक एक सय वर्ष नाघेकी मानवशास्त्री छन् । उनी सन् १९१५ मा जन्मिएकी हुन् । उनी सन् १९४९ मा चीन गणतन्त्र स्थापना हुनुअघि चीनमा बस्थिन् । चीनको चेङ्दुमा जन्मिएकी इसाबेलले चीनको शिक्षा क्षेत्रको विकासमा विशिष्ट योगदान गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

फ्रान्सका पूर्व प्रधानमन्त्री जाँ–पियरे राफारिनलाई पनि “चीनका पुराना मित्र” का रूपमा सम्मान गरिएको छ । सिन्ह्वाका अनुसार चीन–फ्रान्स मित्रता प्रवद्र्धनमा उनले विशेष सहयोग गरेका थिए । यसैगरी विशिष्ट पदकबाट सम्मानित हुनेहरूमा क्युबाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रो र थाइल्याण्डका राजकुमार माहा चक्री सिरिनधोन रहेका छन् ।

समारोहमा कूल ४२ जना पुरस्कृत भएका छन् । तर समारोहमा २९ जना मात्र सहभागी भएका थिए । उक्त समारोहमा पहिलो नोबेल पुरस्कार विजेता चिनियाँ वैज्ञानिक टु योयूका साथै आणविक भौतिकशास्त्री यु मिनलाई पनि सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *