सेनाद्वारा भीमदत्तनगरमा स्वास्थ्य शिविर सञ्चालन

डिसी नेपाल
१४ असोज २०७६ २२:१९

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ बनकट्टीमा नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४७३ जना लाभान्वित भएका छन्।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

शिविरमा २९९ महिला, १२४ पुरुष र ५० बालबालिकाको स्वास्थ उपचार तथा परीक्षण गरिएको देवीदल गणका सेनानी पदम क्षेत्रीले जानकारी दिए। स्थानीय शान्ति आधारभुत विद्यालयमा सञ्चालन गरिएको शिविरमा सेनाको श्री नं २५ फिएको चिकित्सक टोलीका साथै महाकाली अञ्चल अस्पताल र आँखा अस्पतालका चिकित्सकले स्वास्थ्य सेवा प्रदान गरेका थिए।

स्वास्थ्य जाँच गराउन आउनेमा ज्वरो, टाउको तथा हाडजोर्नी दुख्ने, आँखाका बिरामी बढी छन्। ‘हामीले मध्यवर्ती क्षेत्रका नागरिकको सुविधाका लागि शिविर आयोजना गरेका हौँ’, सेनानी क्षेत्रीले भने, ‘यसमा यहाँका वडा कार्यालयहरुले समेत सहयोग गरेका छन्।’

यसअघि पनि सेनाले उक्त क्षेत्रमा स्वास्थ्य सेवासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो। गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीयवासी हर्षित भएका छन्।

भीमदत्तनगरपालिका–१३ का विष्णुमाया थापाले स्वास्थ्य शिविरबाट राहत मिलेको बताए। ‘उपचारका लागि सधैँ भारतीय अस्पताल जानुपर्ने बाध्यता छ’, उनले भने। गरिबीका कारण यहाँका बिरामी उपचारका लागि अन्यत्र जान सक्ने अवस्था छैन।

वेदकोटमा विपद् तालीम

नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले बेदकोट नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन प्रतिकार्य तालीम सञ्चालन गरेको छ।

वेदकोटका सबै वडाका ३० जनालाई गुल्मले दुई दिनसम्म विपद् न्यूनीकरणसम्बन्धी तालीम प्रदान गरेको सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले जानकारी दिए।

वेदकोट नगरपालिका कार्यालयसहितको समन्वयमा सो तालीम सञ्चालन गरिएको हो। तालीम समापन समारोहमा वेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले विपद् व्यवस्थापनका निम्ति सेनाले सिकाएको कुरा जोखिमका बेला उपनाउन सहभागीलाई आग्रह गरे।

यसअघि गुल्मले भीमदत्त नगरपालिकामा समेत सो तालीम सञ्चालन गरेको सेनानी मल्लले बताए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *