शीर्ष राजनीतिक भेटघाटले समस्या समाधानमा सहज हुन्छ : सभापति देउवा

डिसी नेपाल
२६ असोज २०७६ २१:१२

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चियापनजस्ता कार्यक्रममा हुने शीर्ष राजनीतिक भेटघाटले मुलुकका ठूला समस्यालाई वार्ता, छलफल र सहमतिद्वारा समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन्।

काङ्ग्रेसले आज कोजाग्रत पूर्णिमाको अवसर पारेर आयोजना गरेको चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्ता भेटघाटले राजनीतिक रुपमा जतिसुकै मतभेद भएता पनि भेटघाट गर्ने शुभकामना आदानप्रदान गर्ने संस्कृत विकास भएको बताए।

सञ्चाकर्मीको जिज्ञासामा सभापति देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध अझ घनिष्ठ भएको बताउँदै राष्ट्रपति सीसँगको आफ्नो भेटमा काङ्ग्रेसले सदैव एक चीन नीति स्वीकार गरेको तथा चीनको खिलापमा नेपालको भूमि प्रयोग हुन नदिने विषयमा नेपाल प्रतिबद्ध रहेको आफूले सुनाएको उल्लेख गरे।

भेटमा नेपालको विकासमा चीनले प्रदान गरेको सहयोगको प्रशंसा गर्दै निरन्तरताको अपेक्षा गरेको सुनाउँदै सभापति देउवाले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निमन्त्रणा गरेको र समय मिलाएर चीन भ्रमणमा जाने उल्लेख गरे।

विसं २०३३ मा काङ्ग्रेस संस्थापक एवम् जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३५ सालदेखि प्रत्येक वर्ष काङ्ग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गर्दै आएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *