मादक पदार्थ नियमित सेवन गर्नेभन्दा कहिलेकाहीँ पिउनेलाई बढी असर

डिसी नेपाल
१ कार्तिक २०७६ ५:४६

वासिङ्टन डिसी । के तपाई नियमित मादक पदार्थ सेवन गर्नुहुन्छ? कि कहिले कहिले मात्रै गर्नुहुन्छ ? यदि तपाईको उत्तर कहिलेकाहीँ पिउँछु र पिएको बेलामा धेरै पिउँछु भन्ने आयो भने त्यो गलत हुनेछ ।

तर तपार्इँको उत्तर नियमित पिउँछु भन्ने आयो भने तुलनात्मक रूपमा तपार्इँको बानी ठीक छ भन्ने एक सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणकर्ताहरूको उक्त प्रतिवेदन युरोपेली हृदयरोग चिकित्सक समाजद्वारा प्रकाशित ‘इपी युरोपेस’ मार्फत् सार्वजनिक भएको हो ।

अध्ययनका लेखक तथा कोरियाली विश्वविद्यालयका डा जोङ द्वितीय चोइले मादक पदार्थको सेवनको मात्रा र नियमिततालाई केन्द्रित गरेर अध्ययन गरिएको जानकारी दिए ।

मादक पदार्थ थोरै थोरै नियमित सेवन गर्नेभन्दा कहिले कहिले धेरै सेवन गर्नेलाई बढी असर गर्ने गरेको पाइएको अध्ययनबाट थाहा भएको उनले बताए ।

उनले अनियमित सेवनबाट मुटुमा धेरै असर गरेर मुटुसम्वन्धी समस्याहरू बढी सृजना गर्ने गरेको पनि बताए । उनका अनुसार अनियमितताले मुटुको धडकन बढ्ने, नाडीको रफ्तारलाई बढाउने वा अनियमित बनाउने, स्याँ स्याँ हुने, धेरै थकाई लाग्ने, छाती दुख्ने र चक्कर लाग्नेजस्ता समस्या उनीहरूमा देखिने गरेको छ ।

मानिसलाई गर्ने क्षतिमा मादक पदार्थको कुल मात्रा वा मादक पदार्थ सेवनको कुल सङ्ख्यामध्ये कुन कुराले मुख्य भूमिका खेल्छ भन्ने दावीसाथ भन्न भने अझै नसकिने विश्लेषण पनि छ ।

अध्ययनकर्ताहरुले यो सर्वेक्षणमा ९७ लाख ७६ हजार ९ सय ५६ जनालाई सहभागी गराइएको जानकारी दिएका छन् । सन् २००९ देखि सुरु भएको अध्ययन सन् २०१७ सम्म चलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *