दुबईका सबै ट्याक्सीमा सिसि क्यामेरा जडान

डिसी नेपाल
४ कार्तिक २०७६ १२:२८

दुबई । दुबईको सडक तथा यातायात विभागले शहरका सबै ट्याक्सीमा चालक (ड्राइभर) लाई अनुगमन र निगरानी गर्न सिसि क्यामेरा जडान गरेको छ।

ट्याक्सी चढेको समयमा चालकले कुनै नियमको उल्लंघन गरेमा वा कुनै यात्रुले उजूरी गरेमा प्रहरीले तत्काल सिसि क्यामराको सहयोगमा चालकका गतिविधिको विश्लेषण गर्नेछ।

कुनै व्यक्ति वा यात्रु ट्याक्सीमा चढ्नासाथ त्यहाँ जडित सेन्सरले स्वचालित रुपमा फुटेज लिन थाल्ने गल्फ न्यूजले जनाएको छ।

दुबई शहरमा हाल १० हजार ६८४ वटा ट्याक्सी सञ्चालनमा छन्। दुबई सडक तथा यातायात विभागका निर्देशक खालिद अल अवादीले ट्याक्सी चालकको व्यवहारमा सुधार ल्याउन र ग्राहकका गुनासा सम्बोधन गर्न नयाँ व्यवस्था निकै उपयोगी हुने विश्वास व्यक्त गरे।

नयाँ प्रणाली जडानको कार्य सन् २०१७ मा शुरु भएको र हाल दुबई शहरका सबै ट्याक्सीमा जडान भइसकेको पनि उनले जानकारी दिए। दुबईले हाल “खुशी जनता” र स्मार्ट सिटी अभियान सञ्चालन गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *