प्रधानमन्त्री ओलीको डायलसिस गरियो, केही दिन अस्पतालमै रहने

डिसी नेपाल
१३ कार्तिक २०७६ २१:३७

काठमाडौं। प्रधानमन्त्री केपी ओलीको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार डायलसिस ( मिर्गौलाले काम गर्न छोडेपछि रगतको विकार फाल्ने पक्रिया) गरिएको अपुष्ट खबर प्राप्त भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान राजधानी काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको थियो। दिनभरी सघन कक्षमा राखेर उपचार गरिएपछि बुधबार साँझ डायलसिस गरिएको हो।

यद्यपी प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाह र ग्रााण्डीका मेडिकल डाइरेक्टर डा.चक्रराज पाडेले बुधबार साँझ प्रेस नोट जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। सो सँयुक्त प्रेस नोटमा प्रधानमन्त्रीको स्वास्थ्य समस्याबारे केही पनि खुलाइएको छैन। तर, विभिन्न अनौपचारिक स्रोतहरुले भने बुधबार साँझ प्रधानमन्त्री ओलीको डायलसिस गरेको दावी गरेका छन्। यो विषयमा प्रधानमन्त्रीको सचिवालयले कुनै जानकारी दिएको छैन। प्रधानमन्त्री ओली कम्तिमा शुक्रबारसम्म अस्पतालमै रहने सम्भावना रहेको जनाइएको छ।

१२ वर्षअघि मिर्गौलाले काम नगरेपछि प्रधानमन्त्री ओलीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। हालै भदौमा ओली दुई पटक सिंगापुर पुगेर उपचार गराएर फर्किएका थिए। त्यसपछि पनि उनी उपचारका लागि दुई पटक अस्पताल पुगिसकेका थिए। सिंगापुरबाट फर्केपछि बुधबार प्रधानमन्त्री ओली तेस्रो पटक अस्पताल पुगेका हुन्। यो पटक भने उनी अस्पतालमै रहनुपर्ने भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *